नुवाकोटमा बाढीले बगाएकी महिला मृत फेला

असार १३, २०८२

कान्तिपुर संवाददाता

A woman who was washed away by flood in Nuwakot was found dead

नुवाकोट — अविरल वर्षापछिको बाढीले बगाएर बेपत्ता भएकी ककनी गाउँपालिका-१ भसीबुकी महिलाको शव फेला परेको छ ।

शुक्रबार बिहान २:४० बजेतिर बिमनचा खोलाको बाढीले बगाएकी स्थानीय ३२ वर्षीया कमला बलामीको शव दिउँसो ४ बजे बेलकोटगढी नगरपालिका-५ बेउरेनी बालुवाखेतस्थित कोल्फु खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । शव सनाखत गरी मुचुल्कापश्चात् पोस्टमार्टका लागि लागि टिचिङ अस्पताल पठाइएको छ ।

कमला र श्रीमान् ३६ वर्षीय अशोक बलामी गोठमा सुतिरहेको बेला अचानक खोलाले गोठ, पशुचौपायासहित बगेका थिए । अशोकलाई घटनास्थलबाट करिब सय मिटर उत्तरतर्फ घाइते अवस्थामा भेटाएको थियो । उनलाई उपचारका लागि पिपुल्स अस्पताल बालाजु काठमाडौं पठाइएको थियो । 

बाढीले अशोक र कमलासहितका घरगोठ, अन्नपात, बाली, पशुपन्छीमा क्षति गराएको जिल्ला प्रहरी कार्यालयका डीएसपी विक्रम लामाले जानकारी दिए । उनका अनुसार बाढीका कारण सवा १ करोड बराबरको धनमाल क्षति पुगेको छ । 

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, ककनी प्रहरी चौकी, कोल्पुखोला प्रहरी टोली, जनप्रतिनिधि तथा स्थानीय उद्धारमा खटिएका थिए । 

यसैबीच, नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री हितबहादुर तामाङले बाढीग्रस्त क्षेत्र निरीक्षण गरेका छन् । शुक्रबार अपराह्न भसिबु पुगेका सांसद तामाङले मृतक कमलाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार एवम् आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन् । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढीबाट क्षति बेहोरेका पीडितलाई राहत दिन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराए ।

कान्तिपुर संवाददाता

Link copied successfully