मकवानपुर — युवालाई सीपप्रति सम्मान भाव जगाउने उद्देश्यको सीप महोत्सव २०८२, हेटौंडामा शुक्रबार सम्पन्न भएको छ । वागमती प्रदेशका प्राविधिक शिक्षालयमा संचालित औद्योगिक प्रशिक्षार्थी कार्यक्रममा सहभागी प्रशिक्षार्थीमाझ सीप प्रतिस्पर्धा गराएर महोत्सव आयोजना गरिएको छ ।
कार्यक्रममा होटल म्यानेजमेन्ट, अटोमोबाइल तथा आईटी विषयका विद्यार्थीहरुले आफूले सिकेका सीप प्रदर्शन तथा प्रतिस्पर्धा गरेका थिए । सहभागीमध्ये उत्कृष्टलाई पुरस्कृत गरिएको थियो । युवाहरुमा सीप विकास भएमा मात्र त्यसका माध्यमबाट आर्यआर्जनका ढोका भएको यो प्रकृतिको कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
सामाजिक विकास मन्त्रालय, वागमती प्रदेश उद्योग परिसंघ तथा इन्स्योर परियोजनाले कार्यक्रमको संयुक्त आयोजना गरेका हुन् । औद्योगिक प्रशिक्षार्थी कार्यक्रमको प्रि डिप्लोमा तहको २४ महिना सिकाई समयअन्तर्गत प्रशिक्षार्थीले करिब २० महिना सम्बन्धित विषयको सीप उद्योगमै गएर सिक्न पाउँछन् । औद्योगिक प्रशिक्षार्थी कार्यक्रमले श्रम बजारको वास्तविक मागसँग प्रशिक्षार्थी तथा शिक्षालयलाई साक्षत्कार गराउन महत्वपूर्ण भूमिका खेल्ने वागमती प्रदेश उद्योग परिसंघका उपाध्यक्ष स्वागतराज प्याकुरेलले बताए । यो कार्यक्रम विल्कुलै नयाँ भएकाले व्यापक रुपमा लैजान सकेमा युवाको सीपलाई उद्योगसँग जोड्न सकिने उनले बताए ।
उद्योगमा विकास हुँदै गएको प्रविधि शिक्षालयमा हस्तान्तरणसमेत गरिएको छ । विद्युतीय उपकरण बनाउँदै आएको संस्था नेपाल एकरात इन्जिजियरिङ प्रालिले पछिल्लो समय विकसित भएको प्रविधि शिक्षालयलाई हस्तान्तरण गरेको हो । उद्योगबाट प्रोत्साहनस्वरुप २० महिनाको अवधिमा प्रोत्साहन खर्चसमेत पाइने यो कार्यक्रम संघीयस्तरमै प्रभावकारी बनाउनुपर्ने सरोकारवालाले बताउँदै आएका छन् ।
