बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘एक्युट अंकोलोजी सर्भिस’ सुरु, हटलाइन सेवा २४ सै घण्टा
काठमाडौँ — क्यान्सर लागेर उपचार गराइरहेका व्यक्तिमा स्वास्थ्यसम्बन्धी अचानक जटिल समस्या आए के गर्ने ? यस्तो बेला ९८५५०८१५०१ नम्बरमा फोन गर्ने ।
यो फोन नम्बर क्यान्सर रोगका बारेमा जानकार स्वास्थयकर्मी तथा चिकित्सकले उठाउनेछन् । क्यान्सरबारे सामान्य जिज्ञासा, सल्लाह र गुनासोका लागि होइन कि साँच्चै नै जटिलता आएको हो भने मुख्य अस्पताल पुग्नुअघि बिरामीले के के गर्ने ? फोन उठाउनेले सल्लाह दिनेछन् ।
यो सेवा भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सुरु गरेको हो । यो नेपालमा क्यान्सरको मात्रै उपचार हुने मुख्य अस्पताल हो । ‘यो हटलाइन सेवा आकस्मिक रुपमा स्वास्थयमा जटिलता देखिने क्यान्सर रोगीको सुविधाका लागि हो । अझ टाढाका बिरामी जो क्यान्सर उपचार हुने अस्पतालसम्म तत्कालै आउन सक्दैनन्, उनीहरुका लागि हो,’ क्यान्सर अस्पतालका चिकित्सक डा. गुरुशरण साहले भने ।
अस्पतालले क्यान्सरको आकस्मिक उपचारलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘एक्युट अंकोलोजी सर्भिस’ सुरु गरेको छ । यसका लागि खट्ने चिकित्सक र नर्स गरी ३९ जनालाई तालिम दिएर सो सेवा सुरु भएको हो । असार ९ देखि तीन दिनसम्म प्रशिक्षण दिएपछि पूर्वराष्ट्रपति डा. रामवरण यादवले असार ११ गते यो सेवाको उद्घाटन गरेका हुन् । हटलाइन सेवा २४ सै घण्टा उपलब्ध हुने डा. साहले जानकारी दिए ।
‘क्यान्सर रोग र उपचारका क्रममा बिरामीहरुमा जटिलता आउँछ । यस्तो अवस्थामा क्यान्सर अस्पतालमा आकस्मिक कक्ष छ । उनीहरु अस्पतालमा आए उपचार हुन्छ । तर क्यान्सर बाहेकका अन्य जनरल अस्पतालमा क्यान्सरका बिरामीको उपचार हुन सकेको छैन,’ डा.साहले भने । यो सेवामार्फत क्यान्सर अस्पतालले बिरामी र उसको नजिकको अस्पतालसँग समन्वय गर्न खोजेको बताए ।
कतिपय अवस्थामा सानो औषधि खाएर पनि त्यो समस्या समाधान हुने उनी बताउँछन् । 'सामान्य समस्यालाई घरमै राखेर पनि निगरानी गर्न सकिन्छ तर समस्या बल्झिन थाल्यो भने तुरुन्त अस्पताल आउनुपर्छ,' डा. साह भन्छन्, 'ठिक छ भने घरमै बसे पनि भयो, अनावश्यक रुपमा किन कुदिरहने ।’ जटिलता कायम रहेमा अस्पताल आउनुपर्ने उनले सुझाए ।
‘मानौं डडेलधुराको क्यान्सर बिरामीले वान्ता गरिरहेको छ । त्यहाँबाट बिरामी वान्ता गर्दै यहाँसम्म आउन सक्दैन । बिरामी नजिकको अस्पतालमा पुगेर त्यहाँको चिकित्सकले हामीलाई सम्पर्क/समन्वय गरे उहीँबाटै वान्ता रोक्ने औषधि खाएर यहाँ आए बिरामीलाई धेरै सहज हुन्छ,’ डा.साहले भने । क्यान्सरको इमेर्जेन्सी उपचार कम्तीमा सातै प्रदेशका प्रदेशस्तरीय अस्पतालहरुमा सुरु हुनुपर्ने उनले बताए । सार्वजनिक फोन नम्बर आकस्मिक सेवाका लागि भएको हुँदा अन्य कारणले सम्पर्क गर्दै नगर्न उनले अपिल गरे ।
स्थापनाको २५ वर्ष पार भएको बीपी कोइरला मेमोरियल क्यान्सर अस्पतालमा देशभरबाट र भारतका सीमावर्ती क्षेत्रबाट पनि बिरामी उपचारका लागि आउँछन् । सय शय्याबाट सुरु भएको अस्पतालको सेवा अहिले पाँच सय शय्या पुगेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार गएको आर्थिक वर्षमा अस्पतालको ओपीडीमा एक लाख ८८ हजार ५१४ जना आएका थिए । जसमध्ये ६ हजार ७९५ जनालाई क्यान्सर रोग लागेको पुष्टि भएको थियो ।
