हेटौँडा — मकवानपुरको कैलाश गाउँपालिकाले बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले चेली सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले सीमान्तकृत र लक्षित समुदायका कक्षा-१२ उत्तीर्ण गरेका २० वर्ष उमेर पूरा भएका छोरीहरूलाई सम्मान गर्दै आएको हो।
यो वर्ष पनि बालविवाहलाई निरुत्साहित गर्न गाउँपालिकाले १६ औँ गाउँसभाको अवसरमा ७ जना छोरीहरूलाई सम्मान गरेको छ।
पालिकाको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको उक्त कार्यक्रमअन्तर्गत २० हजार रुपैयाँ र सम्मान पत्रसहित कैलाश-९ की सानुमाया स्याङतान ,राधिका तितुङ, कैलाश-१० की शर्मिला मोक्तान, सविना मोक्तान, एलिना मोक्तान, कैलाश-५ की कमला श्रेष्ठ, कैलाश-६ की पार्वती सुवेदीलाई सम्मान गरिएको हो।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विवाहअघि कम्तीमा पनि कक्षा-१२ पास गर्नुपर्छ र २० वर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि चेली प्रोत्साहन कार्यक्रम राखिएको बताए । उनका अनुसार चेली प्रोत्साहन कार्यक्रमका निम्ती गाउँपालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
