हेटौंडाले तेस्रो सन्तान जन्मलाई प्रोत्साहन गर्न कोष बनाउने

असार १०, २०८२

सुवास विडारी

Hetaunda will create a fund to encourage the birth of a third child

मकवानपुर — हेटौंडा उपमहानगरपालिकाले तेस्रो सन्तान जन्मलाई प्रोत्साहन नीतिका रूपमा अवलम्बन गरेको छ ।

केही वर्ष अगाडिसम्म ‘दुई सन्तान ईश्वरको वरदान’ भन्ने नारा अवलम्बन गरेको बागमती प्रदेशको एक मात्र उपमहानगरले आगामी आर्थिक वर्ष २०८२/०८३ बाट तेस्रो सन्तान जन्मलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको हो ।

उपमहानगर प्रमुख मीनाकुमारी लामाले मंगलबार १७ औं नगरसभामा पेस गरेको नीति तथा कार्यक्रमको ९३ औं बुँदामा तेस्रो सन्तान जन्मलाई प्रोत्साहन गर्न कोष खडा गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

उपमहानगरले आगामी आवमा हेटौंडा अस्पतालमा निर्माण थालनी गरिएको एक सय बेडको बाल तथा प्रसूति कक्षको अधुरो निर्माण कार्यलाई सम्पन्न गरी एनआईसीयू र पीआईसीयू सेवा सञ्चालन गरिने जनाएको छ । एनआईसीयू सेवाको अभावमा हेटौंडामा नवजात शिशुको जन्म समयमा उपचारका चितवन धाउनुपर्ने बाध्यात्मक अवस्था हट्ने विश्वास लिइएको छ ।

उपमहानगरपालिकाले आगामी आवका लागि २ अर्ब ९० करोड ३ लाख १० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । जुन चालु आर्थिक वर्षको भन्दा करिब ७ करोड रुपैयाँ बढी हो । उपप्रमुख राजेश बानियाँले नगरसभामा बजेट पेस गरे । बजेटको खर्च बेहोर्ने स्रोततर्फ संघीय सरकारबाट प्राप्त हुने अनुदान १ अर्ब १९ करोड ५० लाख, आन्तरिक स्रोतबाट ६२ करोड ७६ लाख ८० हजार, राजस्व बाँडफाँटबाट ९२ करोड ७० लाख ५५ हजार, प्रदेश सरकारबाट विभिन्न अनुदानबाट प्राप्त हुने ११ करोड, ४५ लाख ७५ हजार तथा नगर विकास कोषबाट ऋण ३ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ ।

उपमहानगरले नगरस्तरीय पूर्वाधार विकासतर्फ ६२ करोड ३९ लाख ४१ हजार, वडास्तरीय योजना तथा कार्यक्रमका लागि ३२ करोड २५ लाख ६२ हजार रुपैयाँ विनियोजन गरेको छ । आर्थिक विकासतर्फ ४ करोड ६९ लाख ७ हजार रुपैयाँ,  शिक्षातर्फ ५ करोड ५१ लाख, स्वास्थ्यतर्फ २ करोड ७८ लाख, युवा तथा खेलकुद विकासतर्फ २ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख बानियाँले जानकारी दिए ।

वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ६ करोड ५० लाख २० हजार रुपैयाँ तथा संस्थागत विकासतर्फ ६३ करोड ५४ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ ।         

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully