क्रिप्टोकरेन्सी र अनलाइन सट्टेबाजी गर्ने दुई जना चितवनमा पक्राउ

असार ९, २०८२

रमेशकुमार पौडेल

Two people involved in cryptocurrency and online betting were arrested in Chitwan

चितवन — क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक जना र अनलाइन सट्टेबाजी (वन एक्स बेट) सञ्चालन गरेको आरोपमा थप एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले इच्छाकामना गाउँपालिका–५ मुग्लिन आडको शान्ति बजारको एक होटेलबाट जेठ २८ गते विशाल तिवारीलाई पक्राउ गरेको छ । तिवारीले युएसडिटी क्रिप्टोकरेन्सीको कारोबार गर्ने गरेको प्रहरीको आरोप छ ।

चितवन प्रहरीले सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएको हो । त्यसैगरी प्रहरीले असार ४ गते अनलाइन सट्टेबाजी गरेको आरोपमा इच्छाकामना गाउँपालिका–४ कुरिनटारबाट २४ वर्षका युनिक श्रेष्ठलाई समाएको छ । काभ्रेको बनेपा नगरपालिका–३ स्थायी ठेगना भई काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ बस्दै आएका श्रेष्ठले कुरिनटारबाट कारोबार चलाएको प्रहरीको भनाइ छ ।

उनले आफ्नो नामको युजर आईडीबाट पैसाको हारजित हुने गरेर अनलाइन सट्टेबाजी गर्दै आएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले बताए । श्रेष्ठले एक करोड आठ लाख ११ हजार १३ रुपैयाँको कारोबार गरेको देखिने पुरीले जानकारी दिए । ‘सट्टेबाजले मुख्य सहरभन्दा अलि बाहिर बसेर कारोबार गर्ने गरेको सूचना थियो,’ एसपी पुरीले भने ।

उनले यस्ता अनलाइन ठगीमा परेकाहरूलाई प्रहरी कार्यालयमा उजुरी गर्न अपिल पनि गरे । यस्ता अपराधको अनुसन्धान गर्न चितवन प्रहरी सक्षम रहेको र आवश्यक पर्दा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को पनि साथ लिने एसपी पुरीले बताए । ‘अनलाइनमा हुने अवैध कारोबारबाट ठगिनेहरूले उजुरी गर्नु होला । अनुसन्धान गर्न न्यायिक प्रक्रियामा सघाउन हामी तत्पर छौँ,’ पुरीले भने । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully