बाग्मती गाउँपालिकाको नीति तथा कार्यक्रम : जनप्रतिनिधि र सरकारी कर्मचारीले सामुदायिक विद्यालयमै बालबालिका पढाउनुपर्ने

बजेट ८३ करोड ७२ लाख, क्रसर उद्योग पालिकाले नै सञ्चालन गर्ने

असार ९, २०८२

प्रताप विष्ट

Policy and program of Bagmati rural municipality: People's representatives and government employees should teach children in community schools

हेटौंडा — बाग्मती गाउँपालिकाले आगामी आवदेखि गाउँपालिकाका जनप्रतिनिधि र सरकारी कर्मचारीहरूले आफना बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नुपर्ने नीति ल्याएको छ ।

पालिकाका अध्यक्ष सर्केस घलानले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पालिका जनप्रतिनिधी र पालिकाका स्थायीवासी सरकारी कर्मचारीले सामुदायिक विद्यालयमा आफना वालवालिकाहरु भर्ना नगरेमा तलब र सेवा सुविधाबाट १० प्रतिशत शैक्षिक कर तिर्नुपर्ने योजना प्रस्तुत गरिएको छ । 

नीति तथा कार्यक्रममा बाग्मती गाउँपालिका–८ नम्बर वडामा रहेको जनता माविलाई बहुमुखी क्याम्पसको रुपमा सञ्चालन गर्ने योजना प्रस्तुत गरिएको छ । आगामी आवदेखि पालिकाले  प्रत्येक वडा कार्यालयबाट सामाजिक सुरक्षाभत्ता वितरण गर्ने र एकल पुरुषलाई समेत सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने नीति लिएको अध्यक्ष घलानले वताए । 

आगामी आवमा पालिकाले नै क्रसर उद्योग स्थापना गरेर सञ्चालन गर्नका लागि बजेटसमेत विनियोजन गरिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित ८३ करोड ७२ लाख ६७ हजार ७४ रुपैयाँ बराबरको बजेट पनि सार्वजनिक गरेको छ । 

गाउँपालिकाको दोस्रो गाउसभाको सातौं अधिवेशनमा अध्यक्ष सर्केस घलानले नीति तथा कार्यक्रम र उपाध्यक्ष फणिन्द्रकुमार तिमल्सिनाले चालू आवको भन्दा १२ करोडले बढी बजेट प्रस्तुत गरेका छन् । गाउँपालिकाले चालू आवका लागि ७१ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

आव २०८२/८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ९ करोड ८ लाख २५ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट २२ करोड ५९ लाख, ३१ हजार ६७४ रुपैयाँ, प्रदेश सरकारबाट ५ करोड ९९ लाख ११ हजार रुपैयाँ र संघीय सरकारबाट ४६ करोड ६ लाख रुपैयाँ व्यहोरिने उल्लेख गरिएको छ । 

गाउँसभामा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष तिमल्सिनाले आगामी आर्थिक वर्षमा सामाजिक विकास क्षेत्रमा कुल बजेटको आधा बजेट विनियोजन गरिएको बताए । सामाजिक क्षेत्रका विभिन्न कार्यक्रमका लागि सबैभन्दा बढी ४२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष तिमल्सिनाले जानकारी दिए । 

पूर्वाधार विकासका लागि १७ करोड, कार्यालय सञ्चालन तथा प्रशासनिकका लागि १२ करोड २६ लाख, वातावरण तथा विपत् व्यवस्थापनका लागि १ करोड १६ लाख, आर्थिक विकासका लागि ५ करोड ४३ लाख र सुशासन तथा संस्थागत विकासका लागि ४ करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाको स्थानीय स्रोतसाधनको प्रयोग गरी आन्तरिक आयमा बढोत्तरी गर्नका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा आफैंले क्रसर उद्योग स्थापना गर्ने तयारी गरेको उपाध्यक्ष तिमल्सिनाले बताए । क्रसर उद्योग स्थापनाका लागि ५ करोड ७५ लाख बजेट प्रस्ताव गरिएको छ । पालिकाले प्रस्तुत गरेको नीति, कार्यक्रम र वजेट असार २८ गते पारित गर्ने योजना गापाले जनाएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully