हेटौंडामा दिवा खाजाका लागि ‘मेघा किचन’ सञ्चालन

असार ९, २०८२

सुवास विडारी

Operation of 'Megha Kitchen' for lunch in Hetaunda

मकवानपुर — हेटौँडा उपमहानगरपालिकाले ९ वटा विद्यालयमा दिवा खाजाका लागि ‘मेघा किचन’ सञ्चालनमा ल्याएको छ। विद्यार्थीको दिवा खाजा व्यवस्थापनलाई लक्षित गर्दै उपमहानगरपालिकाको ६, १६, १७, १८ मा रहेका ९ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ‘मेघा किचन’ सञ्चालनमा ल्याइएको हो।

उपमहानगरको ४ वटा वडाका विद्यालयलाई लक्षित गर्दै हेटौंडा–१७ मा रहेको बालबोध माविको किचनबाट खाजा वितरण हुने हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले जनाएको छ । संघीय सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ मा देशका सबै प्रदेशमा ‘मेघा किचन’को व्यवस्थापन गरेपनि बागमती प्रदेशको हेटौंडाबाट खाजा वितरणको काम अघि बढेको हो।

खाजा वितरणका लागि बालबोध मावि व्यवस्थापन समितिका अध्यक्ष प्रदीप अर्यालको अध्यक्षतामा मेघा किचन व्यवस्थापन समिति गठन गरेर कामलाई अघि बढाइएको शिक्षा महाशाखा प्रमुख सिताराम कोइरालाले जानकारी दिए । किचनबाट बालबोध सहित वंशगोपाल, जनप्रिय, लक्ष्मी आधारभुत, ज्योति, गोरक्षश्वर, कमला, दिव्यज्योती र राजदेवी माबिमा खाजा पुर्‍याउने व्यवस्था गरिएको अध्यक्ष अर्यालले जानकारी दिए।

संघीय सरकारबाट चैत्र महिनामा खाजा व्यवस्थापनको लागि बजेट आएपनि आन्तरिक काम मिलाउने क्रममा भर्खरै मात्र किचन सञ्चालनमा आएको महाशाखाका प्रमुख कोइरालाले बताए। उनका अनुसार ४ वडाका नौ विद्यालयमा कक्षा १० सम्म पढ्ने ७ हजार विद्यार्थी खाजाबाट लाभान्वित हुनेछन् । किचनमा राष्ट्रिय मापदण्ड अनुसार विद्यालय सञ्चालनको ६ दिन ६ नै प्रकारका खाजा बनाउने र वितरण हुनुपर्नेछ ।

किचन व्यवस्थापनले स्थानीय उत्पादनलाई प्राथमितामा राखेर खाजा वितरणको काम समेत गर्नसक्ने बताइएको छ । सञ्चालनमा आएको किचनको हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ, हेटौंडा १८ का अध्यक्ष अनिलकुमार बानियाँ, शिक्षा महाशाखाका प्रमुख कोइरालाले अनुगमन तथा निरीक्षण गरेका छन् ।

किचन सञ्चालनको लागि चालु आर्थिक वर्षमा संघीय सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अनुगमनपछि मेयर लामाले विद्यार्थीको स्वास्थ्यलाई ध्यान राखेर खाजाको व्यवस्थापन गर्न सुझाव दिएकी छिन् । 

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully