दोलखा — रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको चिहाने खोलामा पहिरो जाँदा एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने पाँच घर जोखिममा परेका छन् ।
पहिरोले गोठ पुर्दा गाई र बाच्छा मरेका छन् । आइतबार मध्यरातमा खसेको पहिरोले स्थानीय झगरसिंह बसेलको घर पूर्ण रूपमा क्षति भएको वडाध्यक्ष सन्तलाल मगरले जानकारी दिए ।
उनका अनुसार स्थानीय हरिकृष्ण बसेल, बुद्धिमान बसेल, चिना बसेललगायतका घरहरू पहिरोको उच्च जोखिममा छन् । उनीहरूलाई तत्काल सार्नुपर्ने अवस्था रहेको पनि वडाध्यक्षले बताए ।
जोखिममा परेका घर सुरक्षित स्थानमा सार्न स्थानीय तहले तयारी थालेको दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले जानकारी दिए । पानी परिरहेकोले जोखिमयुक्त बस्तीका स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको उनले बताए ।
गएको वर्ष भदौमा सोही वडाको लेखर्कमा पहिरो जाँदा १० जनाले ज्यान गुमाएका थिए ।
