काभ्रेमा १२ सय ८० हेक्टर क्षेत्रफलमा सकियो रोपाइँ

असार ८, २०८२

ज्योती श्रेष्ठ

In Kavre, 1280 hectare area has been planted

काभ्रे — मनसुन भित्रिएसँगै काभ्रेका अधिकांश स्थानमा अहिले धमाधम रोपाइँ भइरहेको छ । खेतीयोग्य कुल १० हजार २१० हेक्टर क्षेत्रफलमध्ये असार ५ सम्म १२ सय ८० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

जिल्ला कृषि विकास कार्यालय काभ्रेका अनुसार प्रतिशतका आधारमा १२.५४ प्रतिशत रोपाइँ सकिएको हो ।

काभ्रेका १३ वटा पालिकामध्ये पनौती नगरपालिकामा धेरै रोपाइँ भएको छ । पनौतीमा ३० प्रतिशत, धुलिखेल नगरपालिकामा २५, बनेपा नगरपालिकामा २०, बेथानचोक गाउँपालिकामा २०, चौंरीदेउराली गाउँपालिकामा १०, नमोबुद्ध नगरपालिकामा ५, मण्डनदेपुर नगरपालिकामा ५, भुम्लु गाउँपालिकामा ५, रोशी गाउँपालिकामा ५, पाँचखाल नगरपाकिलकामा ३ र तेमाल गाउँपालिकामा २ प्रतिशत रोपाइँ सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए । उनका अनुसार खानीखोला र महाभारत गाउँपालिकामा अझै रोपाइँ सुरु भएको छैन ।  

विशेष गरेर यहाँको हावापानी सुहाउने खालको खुमल र मकवानपुर जातको धानको बिउ सिफारिस गरिएको प्रमुख दवाडीले बताए । उनका अनुसार, उपयुक्त उन्नत जातको धान सिफारिस भए पनि किसानले एसजे–जी १०, चाइना सुपर जातका हाइब्रिड धान पनि रोप्ने गरेको पाइएको छ ।

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully