काभ्रे — काभ्रेको पाँचखाल नगरपालिकाका १५ विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको छ । आइतबार एक कार्यक्रमका अवसरमा नगरपालिकाका घरविहीन विपन्न १५ परिवारका लागि घर निर्माणपश्चात् हस्तान्तरण गरिएको हो ।
पाँचखालका वडा नं ६ मा ३ वटा, वडा नं १० मा ३ वटा र वडा नं १२ मा ९ वटा घर निर्माण कार्यसम्पन्न गरी घरविहीन विपन्न परिवारको हस्तान्तरण गरिएको हो । ह्याबिट्याट फर ह्युमानिटी नेपाल र शान्ति जनआदर्श सेवा केन्द्र, पाँचखाल नगरपालिकाको साझेदारी, सहकार्य र समन्वयमा घरविहीन विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले जानकारी दिए । सबैको साथ र सहयोगमा यो कार्य सम्भव भएको उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय विपद जोखिम व्यवस्थापन तथा न्यूनीकरणका प्रमुख दिनेशकुमार भट्टले पुन:निर्माणको क्षेत्रमा पाँचखालमा गरिएको कार्य निकै प्रशंसनीय भएको बताए । उनका अनुसार, विपदपश्चात् पुन:निर्माणका कामहरु सञ्चालन भइरहेको अवस्थामा पाँचखालमा भने भूकम्प तथा बाढी/पहिरोपश्चात् प्रभावित विपन्न परिवारको अवस्थालाई मध्यनजर गर्दै सुरक्षित आवास निर्माण कार्यसम्पन्न गरेर हस्तान्तरण गरिएको छ ।
विपदको सन्दर्भलाई जोड्दै गत वर्ष काभ्रेमा बाढी/पहिरोका कारण ठूलो क्षति भएको र यसले विपदको पूर्वतयारी र सर्तकर्ताका बारेमा सचेत गराएको उनले बताए । उनका अनुसार, विपदको समयमा प्रतिकार्यका लागि सबैभन्दा पहिले समुदाय तयार हुनुपर्छ । समुदायलाई जोगाउने भनेको समुदायका व्यक्तिले नै भएकाले यसबारे नागरिक सचेत र सर्तक हुन आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले विपन्न वर्गको लागि सुरक्षित आवास निर्माण कार्यसम्पन्न गरेर पुन:निर्माण कार्यमा पाँचखाल नगरपालिकाले महत्वपूर्ण काम गरेको बताए । उनका अनुसार, यस वर्ष विपदबाट हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न पूर्वतयारीका काम भइरहेका छन् । राहत र उद्धारका कार्यलाई विशेष प्राथमिकतामा राखिएको उनले बताए ।
त्यस्तै, ह्याबिट्याट फर ह्युमानिटी नेपालकी राष्ट्रिय निर्देशक एलिजा स्थापितले स्थानीय सरकार, साझेदारी निकाय शान्ति जनआर्दश सेवा केन्द्र र ह्याबिट्याट फर ह्युमानिटी नेपालको सहकार्य र साथ–सहयोगले यहाँ सुरक्षित आवास निर्माणसम्पन्न गर्न सकिएको बताइन् । यसका साथै उक्त कार्यका लागि जनश्रमदान पनि रहेको उनले जानकारी दिइन् । उनका अनुसार, १५ वटा आवास निर्माणका लागि प्रतिआवास १० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको हो ।
शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंख बुद्ध लामाका अनुसार, सुरक्षित आवास परियोजनाअन्तर्गत पाँचखालमा १९ वटा आवास निर्माण कार्य थालिएकोमा हाल १५ वटामा निर्माण कार्यसम्पन्न भई हस्तान्तरण गरिएको र ४ वटामा निर्माण कार्य जारी रहेको छ । सेवा केन्द्रले विभिन्न संस्थाको साथ/सहयोग र साझेदारीमा विभिन्न स्थानमा ७ सय वटा निर्माण कार्यसम्पन्न गरिसकेको उनले जानकारी दिए ।
सुरक्षित निर्माण गरी उपलब्ध गराउने संस्थाप्रति विपन्न घरविहीन परिवारले आभार प्रकट गरे । स्थानीय सरकार, संघ संस्थाको साथ र सहयोगले आफूहरुले नयाँ घर पाएको उनीहरुले बताए ।
