छुटेका महत्वपूर्ण योजनालाई बजेटमा समावेश गरिनेछ : मुख्यमन्त्री लामा 

असार ७, २०८२

ज्योती श्रेष्ठ

Missed important schemes will be included in the budget: Chief Minister Lama

काभ्रे — बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बजेटमा कुनै महत्वपूर्ण योजना छुटेको भएमा त्यसलाई आवश्यकता र प्राथमिकताको आधारमा समावेश गरिने आश्वासन दिएका छन् । 

काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा शनिबार आयोजित नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशको छैठौं प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस शिविरलाई सम्बोधन गर्दै उनले आर्थिक वर्ष २०८२/८३ को लागि थुप्रै माग र योजना आएकोले सबै बजेटमा सम्बोधन गर्न नसकिने बताए । 

‘यस वर्ष प्रदेशमा करिब १९ हजार योजना परेका छन्, त्यसलाई घटाएर १२ हजारमा ल्याउने प्रयास गरिएको थियो, तर सम्भव भएन,' उनले भने, 'मागहरु असीमित छन्, आएका सबै मागहरुलाई सम्बोधन गर्न सकिँदैन, त्यसमा कुनै महत्वपूर्ण मागहरु छुटेको हुन सक्छ, विपद व्यवस्थापन शीर्षकका केही महत्वपूर्ण योजनाहरु पनि छुटेको हुन सक्छ, त्यसलाई आवश्यकता र प्राथमिकताको आधारमा समावेश गरिनेछ ।’ 

बजेट कहाँ र कसरी विनियोजन गर्ने विषयमा पूर्ण अध्ययन गरेर, मास्टर प्लान बनाएरै अघि बढ्यो भने मात्रै योजनालाई कार्यान्वयन गर्न सहज हुने उनको भनाइ थियो । 

उनले आगामी वर्षमा विकास र कार्यक्रमलाई केन्द्रित गराउने भन्दै विपद व्यवस्थापनको विषयलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । गत वर्षको असोज दोस्रो सातामा आएको बाढी/ पहिरोजस्ता विपदजन्य घटनामा जुनियर नेपाल रेडक्रस सोसाइटीले उद्धार तथा राहतमा गरेको योगदानको प्रंशसा गर्दै उनले उक्त कार्य प्रदेश सरकारको ठूलो उपलब्धि भएको बताए ।

जुनियर रेडक्रसले बालबालिकामा सानै उमेरमा सेवाभाव र करुणाभावको विकास गर्ने उनको भनाइ थियो । जुनियर तथ युवा रेडक्रसकर्मीलाई  मानवता, निष्पक्षता रुपले सेवा गर्न उनले सुझाव दिए । 

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully