मन्थली (रामेछाप) — रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने पुछिघाटको झोलुंगे पुल अस्थायी रूपमा मर्मत गरिएको छ । वर्षायाम सुरु भएसँगै पुल मर्मत हुँदा यहाँका स्थानीय खुसी भएका छन् ।
गत असोजमा परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले यहाँको पुल पूर्ण रूपमा क्षति हुँदा सुनकोशी नदी वारपार गर्न स्थानीयले नौ महिनादेखि कठिनाइ भोग्दै आइरहेका थिए ।
खाँडादेवी गाउँपालिका-४ पुछिघाट र सिन्धुलीको सुनकोशी गाउँपालिका-६ चैनपुर जोड्ने एक सय ८० मिटर लम्बाइको पुलको रामेछापतर्फ ३० मिटर भाग बाढीले पूर्ण रूपमा क्षति पुर्याएको थियो । विद्यार्थी, कर्मचारी र किसानलाई आवतजावतमा सहज होस् भनेर खाँडादेवी गाउँपालिकाको विपद् व्यवस्थापन कोषअन्तर्गको चार लाख ५० हजार लागतमा अस्थायी रूपमा पुल मर्मत गरिएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए ।
यस गाउँपालिकाअन्तर्गतका कोथवे, बेलघारीलगायत अन्य स्थानका झोलुङ्गे पुल आंशिक रूपमा मात्र क्षति भएका कारण यसअघि नै स्थानीय स्रोतसाधन परिचालन गरी मर्मतपश्चात सञ्चालनमा ल्याइसकिएको प्राविधिक हरिशचन्द्र बरालले बताए ।
उक्त पुल मर्मत भएसँगै खाँडादेवी–४ बाट सुनकोशी गाउँपालिकाको दीर्घ प्रदिम माविमा अध्ययन गर्न जाने दुई दर्जनभन्दा बढी बालबालिका, खाल्टेमा खेती गर्न जाने अधिकांश किसान र खाल्टेबाट खाँडादेवी वारिपारि गर्ने कर्मचारीलाई निकै सहज भएको स्थानीय इन्द्रबहादुर श्रेष्ठले बताए ।
