सिन्धुपाल्चोक — सिन्धुपाल्चोकबाट चीन जोड्ने उत्तरी नाका तातोपानी जोड्ने बाह्रबिसे तातोपानी (२६ किलोमिटर ) सडकखण्डको लार्चामा शुक्रबार बेलिब्रिज सञ्चालनमा ल्याइएको छ । गत वर्षको असोजमा आएको बाढीले लार्चा बेलिब्रिज बगाएयता भोटेकोसी नदीमा ह्युमपाइप राखेर जोखिमपूर्ण सडक सञ्चालन गरिएको थियो ।
चरिकोट सडक डिभिजन कार्यालयकाअनुसार प्राप्त ठेक्का समय डेढ महिनाभित्रै एक करोड ७० लाख बजेटमा ५४ मिटर लामो बेलिब्रिज जडान गरेर चलाइएको हो । सोवर्ण निर्माण सेवा र क्रियटिभ कन्स्ट्रक्सन एण्ड सप्लायर्सले बेलिब्रिज तयार पारेको हो । बर्खाअघि नै बेलिब्रिजको काम सक्न दिनरात खटेर काम गरिएको सोवर्ण निर्माण सेवाका प्रमुख अर्जुन थापाले बताए । '१५ चैतबाट सुरु भएर जेठको तेस्रो सातामा बेलिब्रिज जडान गरिएको थियो,' उनले भने ।
भोटेकोसी गाउँपालिका वडा नम्बर २, ३ र ४ को एकमात्र मार्ग पहिरोले क्षतिग्रस्त मोटरेबल पुलको फुल्पिङसाइडमा डेब्रिज पन्छाएर जग बनाइएको छ ।
