चार दिनपछि खुल्यो तातोपानी नाका

असार ६, २०८२

अनिश तिवारी

After four days, the Tatopani crossing was opened

सिन्धुपाल्चोक — जिल्लाको भोटेकोसी गाउँपालिका–२ स्थित कोदारी (इको)मा सडक भास्सिँदा ठप्प तातोपानी नाका शुक्रबारबाट सञ्चालनमा आएको छ ।  चीन जोड्ने अन्तर्राष्ट्रिय कोदारी राजमार्ग (२६ किलोमिटर ) को कोदारीमा चार दिनअघि  पाँच मिटर सडक भासिएको थियो ।

राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेसँगै भन्सार प्रक्रियाका लागि चीनबाट सामान बोकेर हिँडेका दर्जनौं कन्टेनर लिपिङमा रोकिएका थिए । नाका चलेसँगै उता रोकिएका कन्टेनर लार्चास्थित भन्सारका लागि हिँडेका छन् । 

बिहीबार साँझदेखि पहिरोको अवरोध हटाउँदै केही समय चले पनि अवरुद्ध बनेको र शुक्रबार भने मर्मतसम्भार गरेर पूर्ण रुपमा सडक खुला गरिएको चरिकोट सडक डिभिजनका कार्यालयका सुचना अधिकारी इन्जिनियर सुरज महर्जनले बताए । 'बुधबार नै खकुण्डोल र कोप्लाङको अवरुद्ध हटाएर सडक सहज बनाइएको थियो, जसमा दुई एस्काभेटर प्रयोग गरिएको थियो, लार्चामा बेलिब्रिज जोडिएको छ,' उनले भने । 

यसअघि पनि कोप्लाङ क्षेत्रमा करिब १५ फिट सडक भास्सिएपछि नाका बन्द भएको थियो । यो वर्षको बर्खायाममा यो दोस्रोपटक नाका पूर्णरूपमा अवरुद्ध भएको हो । तातोपानी नाका विगतदेखि नै प्राकृतिक प्रकोपले बारम्बार प्रभावित हुँदै आएको छ ।  यद्यपि, हाललाई वैकल्पिक व्यवस्थाको अभावले यात्रु र व्यवसायीलाई असहज भएको छ ।

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully