मकवानपुरमा ११ महिनामा आफन्तबाटै ६ महिलाको हत्या

लागुऔषध सेवनकर्ताद्वारा हत्या

असार ६, २०८२

प्रताप विष्ट

6 women killed by their relatives in Makwanpur in 11 months

हेटौंडा — लागुऔषध र मादक पदार्थ सेवन गर्नेहरुले मकवानपुरमा ११ महिनायता एकाघरमा बस्ने ६ जना महिलाको हत्या गरेका छन् ।

थाहा नगरपालिका—१ कुन्छालका ३५ वर्षीय देवर विमलमान गोपालीले ५० वर्षीया भाउजु तुलमाया गोपालीको बिहीबार हत्या गरेका थिए । गर्दनमा खुकुरी प्रहार गरेर विमलमानले भाउजुको हत्या गरेका हुन् । विमलमान लागुपदार्थ सेवनकर्ता हुन् । उनलाई ३ वर्षअघि काठमाडौंको एक सुधार केन्द्रमा राखेर घर ल्याइएको थियो ।

उनी लागुपदार्थ सेवनकर्ता भएका कारण २० महिनाअघि मात्रै पत्नीले सम्बन्धविच्छेद गरेकी थिइन् । भाउजुले देवरलाई लागुऔषध र रक्सी नखान सम्झाउँदै आएकी थिइन् । सम्झाएकै कारण देवर र भाउजुको विगत एक वर्षदेखि बोलचाल थिएन । तर उनीहरु एउटै घरमा बस्थे । चुल्हो अलग थियो । आँगनमा निस्केको अवस्थामा एक्कासि विमलमानले भाउजुको गर्दनमा खुकुरी प्रहार गरेर हत्या गरेका थिए । 

थाहा नगरपालिकास्थित थाना बजारमा रहेको इलाका प्रहरी कार्यालय पालुङमा भाउजुको हत्या गर्न प्रयोग गरेको खुकुरीसहित उनी उपस्थित भएका थिए । इलाका प्रहरी कार्यालय पालुङका एक प्रहरीका अनुसार त्यतिबेला पनि उनले मदिरा सेवन गरेका थिए ।

गत चैत १२ गते हेटौंडा उपमहानगरपालिका—१ चौकीटोलमा लागुपदार्थ सेवन गर्ने २२ वर्षीय देवर राहुल दासले ३५ वर्षीया भाउजु गुडिया दासलाई घरकै कोठामा खुकुरी प्रहारी गरेर हत्या गरेका थिए । लागुऔषध सेवन गर्नका लागि पैसा नदिएको झोँकमा भाउजुको उनले हत्या गरेका थिए । राहुल चार/पाँच वर्षदेखि लागुऔषध सेवन गर्दै आएका थिए । अहिले उनी भीमफेदी कारागारमा छन् ।

यस्तै, २०८१ साउन २७ मकवानपुरको कैलाश गाउँपालिका—५ का २८ वर्षीय मंगलबहादुर पाख्रिनले मादक पदार्थ सेवन गरेर २२ वर्षीया पत्नी लक्ष्मी पाख्रिनको खुकुरी प्रहार गरी घरमा नै हत्या गरेका थिए । मंगलबहादुर पनि लागुऔषध सेवनकर्ता थिए । उनलाई पनि ९ महिना हेटौंडास्थित सुधार केन्द्रमा राखिएको थियो । मंगलबहादुर अहिले भीमफेदी कारागारमा छन् ।

२०८१ भदौ १० गते हेटौंडा उपमहानगरपालिका—१ भैरवडाँडाकी ६८ वर्षीया हजुरआमा ठूलीमाया विश्वकर्माको ३० वर्षीय नाति प्रविण विश्वकर्माले घरमा नै हत्या गरे । मादक पदार्थ सेवन गरेर हजुरआमालाई धकेलेर प्रविणले हत्या गरेका थिए । अहिले उनी भीमफेदी कारागारमा छन् । २०८१ भदौ ९ मा हेटौंडा उपमहानगरपालिका—५ की पत्नी अम्बिका भण्डारीको हत्या गरेर पति केशवबहादुर भण्डारीले आत्महत्या गरे । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २०८१ साउन २७ गतेदेखि २०८२ असार ४ सम्म मकवानपुरमा ६ महिलाको हत्या गरिएको छ । अधिकांश हत्या लागुऔषध वा मादक पदार्थ सेवन गर्नेहरुले गरेका छन् । मकवानपुरमा आफन्तबाट भएका महिलाको हत्यामा लागुऔषध र मादक पदार्थ सेवन गर्नेहरु संलग्न पाइएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए । 

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully