हेटौंडा — हेटौंडा उपमहानगरपालिका–१ का वडाध्यक्ष सबिन न्यौपानेमाथि आक्रमण गर्नेहरुलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न हेटौंडा उपमहानगरपालिकाले माग गरेको छ ।
उपमहानगरपालिकाले बुधबार अपराह्न जारी गरेको प्रेस विज्ञप्तिमा वडाध्यक्ष आफ्नो कार्यकक्षमा बसेर काम गरिरहेको अवस्थामा अपरिचित व्यक्तिहरु आएर ज्यानै लिने उद्देश्यले आक्रमण गरेको ठहर गर्दै आक्रमण संलग्न व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न माग गरिएको छ । हेटौंडा उपमहानगरपालिका–१ वडाध्यक्ष तथा उपमहानगरका प्रवक्ता न्यौपानेमाथि बुधबार दिउँसो अज्ञात समूहले सांघातिक आक्रमण गरेको थियो ।
जग्गा सम्बन्धी समस्या देखाउँदै कालो पोसाक लगाएर मोटरसाइकलमा आएका चार जनाको समूहले उनलाई कार्यकक्षमै आक्रमण गरेका थिए । उनीहरुले अध्यक्ष न्यौपानेमाथि कार्यालयमा रहेको सामग्रीले टाउकोमा प्रहार गर्नुका साथै मोबिल छ्यापेका थिए । उनको टाउकोमा चोट समेत लागेको थियो ।
उपमहानगरपालिकाको कार्यपालिका बैठकले सार्वजनिक जमिन संरक्षण दायित्व स्थानीय तहको रहेको स्थानीय तह सञ्चालन ऐन २०७४, मुलुकी देवानी संहिता २०७४ लगायत कानुनको पालना गर्दै आफ्नो काममा लागि रहँदा अध्यक्ष न्यौपानेमाथि आक्रमण गरिएको उपमहागनगरपालिकाले जनाएको छ ।
केही दिन अघिबाट हेटौंडा–१ स्वर्गलोक हेटौंडा अस्पताल पछाडि रहेको सार्वजनिक जमिनमा घर टहरा निर्माण गर्न खोज्नेलाई हटाउँदै उपमहानगर र वडाले संरक्षणको कदम अघि बढाएको थियो ।
आक्रमणका लागि आएकासँग प्रतिकारको क्रममा चिच्याएपछि उनीहरु भागेको अध्यक्ष न्यौपानेले जानकारी दिए । घटनाका क्रममा अध्यक्ष न्यौपानेले प्रयोग गर्ने दुइटै मोबाइल आक्रमणकारीले लुटेर लगेको अध्यक्ष न्यौपानेले बताए । आक्रमणकारीहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
