हेटौंडा — थाहा नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता पालिका घोषणा गरिएको छ ।
थाहा नगरपालिका खोप समन्वय समितिका संयोजक तथा नगर प्रमुख विष्णु विष्ट र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य प्रशासक कृष्ण मिजारले संयुक्त रूपमा मंगलबार एक समारोहबीच घोषणा गरेका हुन् । मकवानपुर जिल्लामा ‘पूर्ण खोप दिगोपना सुनिश्चितत पालिका’ थाहा नगरपालिकासहित ६ वटा पालिका घोषणा भइसकेका छन् । अब चारवटा पालिका घोषणा हुन बाँकी छन् ।
‘पूर्णखोप सुरक्षित भविष्य, स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागितामा पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित पूर्णखोप पालिका घोषणा गरिएको हो ।
नगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीका अनुसार, पहिलो चरणमा नगरका सबै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिसकेपछि, निर्धारित इन्डिकेटर र ‘पूर्णखोप निर्देशिका २०७१’ को आधारमा यो वर्ष खोपको दिगोपना सुनिश्चित गरिएको हो ।
पछिल्लो सर्वेक्षणअनुसार, १६–२३ महिनाका ४३८ र ०–१५ महिनाका ४८८ जना बालबालिकाले पूर्णरूपमा खोप लगाएको तथ्यांक रहेको छ ।
खोप समन्वय समितिको सक्रियतामा हरेक वडामा घरभेट सर्वेक्षण, २९ वटा खोप केन्द्रबाट मासिक नियमित सेवा र छुटेकालाई खोप दिने कार्य भएको जनाइएको छ । यसै आधारमा ९५ प्रतिशत खोप पहुँच दर पुगेपछि, पालिकालाई जिल्ला समन्वय समितिमा प्रस्ताव पेश गरिएको र स्वीकृत भई घोषणा गरिएको हो ।
थाहा नगरपालिका १२ वडायुक्त पालिका हो, जसमा साबिकका दामन, पालुङ, बज्रबाराही, चित्लाङ, टिस्टुङ र आग्रासहित ६ वटा गाविस समेटिएका छन् । पालिकामा एक प्राथमिक स्वास्थ्य केन्द्र, तीन आधारभूत स्वास्थ्य केन्द्र र तीन सहरी स्वास्थ्य केन्द्रसहित पाँचवटा स्वास्थ्य संस्था रहेका छन् ।
नगर प्रमुख विष्णु विष्टले घोषणा कार्यक्रममा बोल्दै खोपले बालबालिकालाई रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्ने भएकाले कसैलाई पनि खोपबाट वञ्चित गर्न नहुने स्पष्ट पारे । साथै, खोप सुनिश्चित अभियानमा योगदान गर्ने सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई धन्यवाद दिएका थिए ।
