हेटौंडा — मकवानपुर प्रहरीले लागूऔषध तथा हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ। राक्सिराङ गाउँपालिका–१ का ५० वर्षीय राजु स्याङतानको घरबाट प्रहरीले एक थान इटालियन पेस्तोल, म्यागजिनसहित पेस्तोल १ थान, खाली म्यागेजिन थप १ थान र गोली (राउन्ड) १३ थान बरामद गर्दै स्याङतानलाई पक्राउ गरेको हो।
प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रहरी टोली स्याङतानको घरमा पुगेर हतियारसहित उनलाई पक्राउ गरेको हो। इटालियन पेस्तोल स्याङतानले आफू सुत्ने ओछ्यानको सिरानीमुनि राखेका थिए। प्रहरीले स्याङतानको गोठबाट कटुवा पेस्तोल १ थान, गोली १२ राउन्ड, १ केजी ३१० ग्राम अफिम र २२ केजी ८ सय ग्राम गाँजा बरामद गरेको थियो।
स्याङतान लागूऔषध अफिम, गाँजा खरिद गरेर भारतीय व्यापारीलाई बिक्री गर्ने व्यापारी भएको प्रहरीले जनाएको छ। स्याङतान हतियार बोकेर लागूऔषधको कारोबार गर्दै आएको प्रहरीको दाबी छ। स्याङतानलाई घरबाटै हतियार र लागूऔषधसहित पक्राउ गरेर ल्याउने क्रममा बाटोमा गाउँलेहरूले अवरोध गरेका थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खडकाको नेतृत्वमा गएको ४० जनाको प्रहरी टोलीले गाउँलेहरूको अवरोध पन्छाएर स्याङतानलाई हेटौंडा ल्याएको थियो।
गाउँलेहरूको अवरोध पन्छाउन प्रहरीले १० राउन्ड हवाई फायर गरेको थियो। पक्राउ परेका स्याङतान पेशेवर लागूऔषध व्यापारी हुन्। २०७१ सालमा लागूऔषधको कारोबार गरेको ठहर गर्दै २ वर्ष जेल बसेर छुटेका थिए। यसैगरी २०७६ सालमा लागूऔषधको कारोबार गरेको ठहर गर्दै साढे ५ वर्ष जेल बसेर गत माघ १ गते छुटेका थिए। जेलबाट छुटेको ६ महिना नपुग्दै उनी हतियार र लागूऔषधसहित पुनः पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका स्याङतानको घर नजिकै चन्द्रलाल मोक्तानको वारीको आमको रुखको फेदमा घरेलु कटुवा पेस्तोल १ थान, गोली ५ थान र १ केजी ४८० ग्राम अफिम वेवारिसे अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताएका छन्।
