भोटेकोशी-५ आयोजनाको विरोधमा स्थानीय, सार्वजनिक सुनुवाइमै तोडफोड

असार १, २०८२

अनिश तिवारी

Vandalism in local public hearing against Bhotekoshi-5 project

सिन्धुपाल्चोक — बाह्रबिसेमा निर्माण तयारीमा रहेको ४६ मेगावाट क्षमताको भोटेकोशी–५ जलविद्युत् आयोजनाविरुद्ध स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् गृहबाट निस्कने पानीमै टनेल हालेर नयाँ आयोजना बनाउन लागिएकामा स्थानीयले वातावरणीय असर पर्ने भन्दै विरोध जनाएका हुन् ।

आइतबार बाह्रबिसे नगरपालिका क्षेत्रका स्थानीयले ‘गो ब्याक कालिका हाइड्रो’ भन्दै कालो झन्डासहित बजारमा प्रदर्शन गरे । बाह्रबिसे बजार, मानेश्वारा, राम्चेलगायत क्षेत्रका स्थानीयले विरोध र्‍याली निकाल्दै आयोजना स्थगनको माग गरे । नगरको कभर्ड हलमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ अवरुद्ध पार्दै आक्रोशित समूहले कुर्सी तोडफोड समेत गरेका छन् । प्रदर्शनकारीले नाराबाजीसहित हलभित्र पसी सुनुवाइ कार्यमा अवरोध पुर्‍याएका थिए ।

कालिका हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको आयोजनाको पावर हाउस बाह्रबिसे नगरपालिका र बलेफी गाउँपालिकाको सिमाना जुरेमा पर्नेछ । तर, नदीको पानी सुरुङमार्फत प्रयोग गर्दा वातावरणीय सन्तुलन बिग्रन सक्ने भन्दै स्थानीय चिन्तित छन् । स्थानीय बासिन्दा राजु श्रेष्ठले भने, 'भोटेकोशीको पानी सुरुङमार्फत प्रयोग गर्दा बाह्रबिसे बजारको पहिचान नै मेटिने खतरा छ। त्यसैले अब यहाँ कुनै जलविद्युत् आयोजना आवश्यक छैन ।'

हाल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनका लागि सार्वजनिक सुनुवाइको तयारी भइरहेका बेला यसरी विरोध चर्किएको हो ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully