दुर्गम लिती गाउँका घरघरमा धारा

असार १, २०८२

प्रताप विष्ट

Streams in the homes of remote Liti villages

हेटौंडा — मकवानपुरको थाहा नगरपालिकाका दुर्गम क्षेत्रका बासिन्दाको घरघरमा पानीको धारा जडान गरिएको छ ।

आँगनमा नै पानी आउन थालेपछि थाहा नगरपालिका-१२ लिती गाउँका बासिन्दा हर्षित भएका छन् । नगरपालिकाको आधारभूत खानेपानी सेवा विस्तार नीतिअनुसार लितीगाउँमा ‘एक घर, एक धारा’ निर्माण गरिएको हो ।

लितीगाउँका २ सय ५ घरमा विस्तार भएको खानेपानी आयोजनाको नगर प्रमुख विष्णुबहादुर विष्टले एक समारोहबीच उद्घाटन गरेका थिए । टिष्टुङको मेल खोला मुहानबाट वितरण गरिएको खानेपानीका लागि १९ किलोमिटर लामो पाइप विस्तार गरिएको छ । आयोजनाका लागि नगरपालिकाबाट ६० लाख, च्वाइस नेपालबाट ८० लाख र स्थानीय श्रमदान २५ लाख गरी १ करोड ६५ लाख रुपैयाँ बराबरको लागतमा उक्त खानेपानी आयोजना निर्माण गरिएको थाहा नगरपालिकाका खानेपानी बोर्डका प्रमुख सुरजकुमार भुजेलले बताए । 

नगरपालिकाको दुर्गम गाउँका रुपमा रहेको लितीका बासिन्दाको घरघरमा पानी पुर्‍याउन आर्थिक र प्राविधिक सहयोग गर्ने  च्वाइस यूएसएकी सीईओ हृयादर र च्वाइस नेपालका कार्यकारी निर्देशक प्रतीक शर्मालाई नगरपालिकाका मेयर विष्टले धन्यवाद दिए । २०८० कात्तिक २१ गते शिलान्यास गरिएको उक्त आयोजनाको निर्माण कार्य तोकिएको समय अगावै सम्पन्न भएको थियो । 

ट्यांकी निर्माणका लागि जग्गा दान गर्ने काले स्याङ्तान, वीर सिंह घलान, श्याममाया बाइवा, फाउते सिंह गोले, रामबहादुर स्याङ्तान र माइली स्याङ्तानलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । 

उक्त खानेपानी आयोजनाको उद्घाटनसँगै लिती गाउँको नागदह, ब्लेटोल, गौराइटोल, नयाँ घर टोल र  कुण्डलीटोलका घरघरैमा खानेपानीको धारा पुगेको छ । प्रत्येक धारामा मिटर जडान गरिएको छ । मासिक १० हजार लिटर पानीको न्यूनतम महसुल सय रुपैयाँ तोकिएको छ । तामाङ समुदायको मात्र बसोबास रहेको लिती गाउँ त्रिभुवन राजपथको नौखण्डेवाट करिब १० किलोमिटरको दुरीमा छ । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully