हेटौंडा — हेटौंडा–काठमाडौं जोड्ने सडक कान्तिलोकपथ पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध छ । शनिबार बेलुकादेखिको भएको वर्षाका कारण कान्तिलोकपथ अन्तर्गतका विभिन्न स्थानमा पहिरो गएकाले सडक अवरुद्ध भएको हो ।
कान्तिलोकपथको ठिंगन–वगुवा सडक खण्डको भर्याङडाँडामा पहिरो खसेकाले आइतबार बिहानदेखि सडक अवरुद्ध भएको इप्रका ठिंगनका प्रहरी निरिक्षक विद्यासागर मेहताले बताए ।
भर्याङडाडामा माथिबाट पहिरो खसेर सडकमा सवारी साधनहरु आउजाउ गर्ने सक्ने अवस्था नभएको प्रहरीले जनाएको छ ।
उक्त कान्तिलोकपथ अन्तर्गत पर्ने मकवानपुरगढीको शिखरकटेरीमा सडक माथिबाट पहिरो खसेको र रुख पनि ढलेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले बताए । दुवै स्थानमा पानी परिरहेकाले अवरोध हटाउन समष्या भएको प्रहरीले जनाएको छ ।
