मकवानपुर — बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आइतबार राति प्रदेशसभामा पेस गरेको बजेटमध्ये आगामी आवका लागि चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार रुपैयाँ अर्थात् ३८ दशमलव ६ प्रतिशत र पुँजीगततर्फ ४२ अर्ब ४३ करोड २६ लाख ३६ हजार रुपैयाँ अर्थात् ६१ दशमलव ४ प्रतिशत बजेट विनियोजन गरेका हुन् ।
बजेटमा खर्च व्यहोर्ने स्रोततर्फ कर तथा राजस्वबाट २८ अर्ब ८७ करोड ८२ लाख १ हजार रुपैयाँ, अन्य राजस्वतर्फ ६ अर्ब ७९ करोड ४ लाख १३ हजार, संघीय वित्तीय हस्तान्तरणबाट ४१ अर्ब ८१ करोड ९३ लाख, चालु आवको सञ्चित कोषको बचत तथा विविध प्राप्तिबाट १६ अब ९८ करोड ९४ लाख १३ हजार रुपैयाँ अनुमान गरिएको छ ।
मन्त्री काफ्लेले चालु आव २०८१/०८२ को तुलनामा करिब ३ अर्ब ७ करोड रुपैयाँ बढी बजेट सदनमा प्रस्तुत गरेका हुन् । उनले चालु आवको योजनालाई निरन्तरता दिँदै केही नयाँ योजनालाई समावेश गरी बजेट ल्याएको जनाए ।
प्रदेश सरकारले आगामी आवमा स्थानीय तहलाई अनुदान र कर बाँडफाँडबापत १४ अर्ब १५ करोड ८९ लाख हस्तान्तरण गर्ने भएको छ । प्रदेश स्थानीय तहका लागि सम्मानीकरण अनुदान १ अर्ब ६६ करोड रुपैयाँ हस्तान्तरण गर्ने बजेट वक्तव्यमार्फत उपलब्ध गराउने जनाएको हो । सशर्त अनुदानबापत ३ अर्ब ४३ करोड ८८ लाख रुपैयाँ, समपुरक अनुदानबापत २ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ, विशेष अनुदानबापत ७६ करोड ३० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । सवारी कर बाँडफाँडबापत प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ५ अर्ब ५० करोड रुपैयाँ हस्तान्तरण गर्ने अनुमान गरिएको छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सबैभन्दा धेरै २४ अर्ब ८० करोड १९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री काफ्लेले जानकारी दिए । उनका अनुसार खानेपानी ऊर्जा तथा सिंचाइ मन्तत्रालयका लागि ७ अर्ब २८ करोड ७१ लाख रुपैयाँ विनियोजन गरिएको छ । सामाजिक विकास मन्त्रालयलाई ४ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ, वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब ९९ करोड ६७ लाख रुपैयाँ, स्वास्थ्य मन्त्रालयलाई ३ अर्ब ९६ करोड ८८ लाख रुपैयाँ तथा संस्कृति तथा पर्यटन मन्त्रालयका लागि ३ अर्ब ६७ करोड ७० लाख रुपैयाँ बजेट व्यवस्था गरेको उनले बताए ।
मन्त्री काफ्लेका अनुसार युवा तथा खेलकुद मन्त्रालय १ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरिएको छ । खेलकुद मन्त्रालयलाई विनियोजन गरिएको यस रकम हालसम्मकै उच्च बजेट हो । श्रम, रोजगार तथा यातायात मन्त्रालय ८७ करोड ४१ लाख रुपैयाँ, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय ७७ करोड ९६ लाख रुपैयाँ तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई २५ करोड ७८ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
पर्यटन प्रवर्द्धन गर्न स्थानीय तहसँगको साझेदारीमा हेलम्बु ग्रेटट्रेल, नुवाकोट र सैलुङमा मिनि ग्रेटवाल निर्माण गर्न १२ करोड बजेट विनियोजन गरिएको छ । ‘एक वडा, एक कृषि’ उत्पादन कार्यक्रमलाई २५ करोड ५० लाख बजेट छुट्याइएको छ ।
विषादी अवशेष परीक्षण प्रयोगशाला स्थापना र सञ्चालन गर्न ९ करोड तथा ४ वटा स्मार्ट कृषि फार्म स्थापना गर्न ६ करोड, सौहुलियतपूर्ण कर्जाको ब्याजमा अनुदान कार्यक्रमका लागि ५ करोड बजेट विनियोजन गरिएको छ ।
