मण्डनदेउपुर नगरपालिकाद्वारा कर नतिर्ने ३ इट्टाभट्टा र १ क्रसर उद्योगमा ताला

जेष्ठ ३१, २०८२

ज्योती श्रेष्ठ

Mandandeupur Municipality locks 3 brick kilns and 1 crusher industry for non-payment of tax

काभ्रे — काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले कर नतिर्ने ३ इट्टा भट्टा र १ क्रसर उद्योगमा ताला लगाएको छ । पटक–पटक ताकेता गर्दा पनि अटेर गरेपछि शुक्रबार मण्डनदेउपुर नगरपालिकाले तीनवटा इट्टा भट्टा र एकवटा क्रसर उद्योगमा ताला लगाएको हो ।

नगरप्रमुख टोकबहादुर वाईबाको नेतृत्वमा खटिएको अनुगमन टोलीले नगरपालिकामा दर्ता नभएका, कर नतिरेका तथा नवीकरण नगरिएका उद्योगहरूमा तालाबन्दी गरेको हो । नगरपालिकाले यसअघि पटक–पटक चेतावनी दिँदा पनि कानुनी दायरामा नआएपछि बाध्य भएर यस्तो कदम चालिएको नगर प्रमुख वाइबाले जानकारी दिए ।

अनुगमन टोलीले नगरपालिकाको वडा नम्बर ९ रायोबारीमा रहेको सेन्ट वासिङ एण्ड क्रसिङ उद्योगमा ताला लगाइएको छ । उक्त उद्योगले आर्थिक वर्ष २०७८/७९ देखि हालसम्म ४५ लाख ८४ हजार कर तिर्न बाँकी छ । कर नतिरेको नगरपालिकाको वडा नम्बर ६ मा रहेको श्री कालिदेवी ईट्टा उद्योगमा ताला लगाएको छ । 

उक्त उद्योगले ६१ लाख, ८४ हजार कर नतिरेको नगरपालिकाले जनाएको छ । त्यस्तै, वडा ६ मै सञ्चालित श्री चण्डेनी नगरकोट ब्रिक्स ईण्डष्ट्रिज प्रा.लिमा ताला लगाएको छ । उक्त उद्योग नगरपालिकामा दर्ता नभएको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाको वडा नम्बर ७  मा सञ्चालित श्री दक्षिणकाली इट्टा उद्योगमा पनि अनुगमन टोलीले ताला लगाइएको छ । उक्त उद्योगले ४५ लाख, ८४ हजार कर नतिरेको नगरपालिकाले जनाएको छ । 

पालिका प्रमुख वाइबाका अनुसार, समयमै दर्ता, कर तिर्ने र नवीकरण गर्ने प्रक्रिया पूरा नगर्ने उद्योगलाई कानुन अनुसार कारबाही गरिनेछ । नगरपालिकाले आगामी दिनमा पनि यस्ता अनियमित उद्योगहरूविरुद्ध निगरानी र कडाइ गर्ने उनले बताए ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully