सिन्धुपाल्चोक — जिल्लाका ७ स्थानीय तहले बालबालिकालाई लक्षित गर्दै पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका छन् । जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिकामध्ये मेलम्ची र बाह्रबिसे नगरपालिकासहित जुगल, त्रिपुरासुन्दरी र गाउँपालिकाले बिहीबार ‘खोज र खोप’ अभियान सफल भएको जनाएका हुन् ।
मेलम्ची नगरपालिकाले तीन महिना लामो ‘खोज र खोप’ अभियान सञ्चालन गरी १६ देखि ५९ महिनासम्मका १ हजार ७४७ बालबालिकालाई छुटेका सबै खोप प्रदान गरेको जनाएको छ । नगर प्रमुख आइतमान तामाङका अनुसार 'स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता' भन्ने नारासहितको अभियान सफल भएपछि नगरलाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।
'सम्बद्ध उमेर समूहका बालबालिकालाई आवश्यक सबै खोप लगाइएको छ । यो ऐतिहासिक उपलब्धि हो,' तामाङले भने । कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडाध्यक्ष, स्वास्थ्यकर्मी, कर्मचारीलगायत सरोकारवालाहरूले खोप सुनिश्चितताको निरन्तरतामा सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
यता जुगल र त्रिपुरासुन्दरी गाउँपालिकाले पनि वडा तहसम्मको पूर्णखोप सुनिश्चितता प्रमाणीकरण सभा सम्पन्न गरेको जनाएका छन् । त्रिपुरासुन्दरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण शाहका अनुसार खोप सुनिश्चितताका साथै जनस्वास्थ्य बीमा, पाठेघर क्यान्सर परीक्षण, विविध स्वास्थ्य शिविरजस्ता कार्यक्रम सँगै अभियानलाई सार्थक बनाइएको छ भने अन्य पालिकाहरूमा पनि अभियान तीव्र रूपमा अघि बढिरहेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
