एक गाग्री पानी लिन तीन घण्टा पैदल

जेष्ठ २९, २०८२

अनिश तिवारी

Three hours walk to fetch a garri of water

सिन्धुपाल्चोक — जिल्लाको बाह्रबिसे नगरपालिका–९, चुल्ठे गाउँका ६८ वर्षीय मंगलसेन तामाङ दिनहुँ एक गाग्री पानी ओसार्न तीन घण्टा हिँड्न बाध्य छन् । स्थानीय मुहानहरू सुकेपछि उनी पानीका लागि गाउँभन्दा तल रहेको धाराखोला पुग्नुपर्ने हुन्छ ।

‘वृद्ध उमेरमा बिहान सकी नसकी पानी ल्याउनु कष्टकर छ, तर के गर्नु अरू विकल्प छैन । वर्षात‍्को पानी थाप्न हुन्थ्यो, पानी राम्रोसँग नपर्दा त्यो उपाय पनि रहेन,’ तामाङले दुखेसो पोखे । 

२०७२ सालको भूकम्प र त्यसपछिका पराकम्पनपछि यहाँका अधिकांश पानीका मुहान सुक्न थालेका हुन् । आसपासका सानातिना पानीका मुहान पनि पूर्ण रूपमा सुकेपछि यहाँ काकाकुलको अवस्था बन्न थालेको छ ।

पानी आउने माध्यम नभएपछि करिब सात महिनाअघिदेखि यहाँको मुख्य पानी ट्यांकीसमेत पूरै रित्तिएको छ । लगातारको खडेरीले गाउँमा पानीको हाहाकार अवस्था सिर्जना भएको माथिल्लो चुल्ठे गाउँकी स्थानीय बुधीमार्ई तामाङले बताइन् । ‘सडक, बिजुली त छ, तर पिउने पानी ल्याउन घन्टौं लाग्ने भएपछि दिक्क लाग्ने गर्छर्, तर के गर्नु हजुर, हाम्रो दुःख सरकारले देखेन,’ उनले भनिन् । Three hours walk to fetch a garri of water६८ वर्षीय मंगलसेन तामाङ । तस्बिरहरू : अनिश /कान्तिपुर

मंगलसेन र बुधीमाईझैं यहाँको चुल्ठे र माथिल्ला गाउँका गरी ३० घरधुरी बासिन्दा दैनिक जीवनका लागि पानीकै लागि संघर्षरत छन् । स्थानीय अगुवा ३१ वर्षीय फुर्बाछिरिङ तामाङले केही समयअघिदेखि व्यक्तिगत झण्डै ७ लाख रुपैयाँ खर्चेर मोटरमार्फत खोलाबाट पानी तानेर गाउँलाई वितरण गरेका थिए ।

हाल पनि उनी समय–समयमा करिब ४ हजार लिटर पानी तानेर घरघरमा वितरण गरिरहेका छन् । तर आर्थिक अभावका कारण मेसिनबाट पानी तान्ने दीर्घकालीन प्रयास असफल भएको उनले बताए । 

‘नगरपालिकालाई यो समस्याबारे धेरै पटक भनेर अनुरोध गरें, तर बेवास्ता गरियो, यसबारे गुहार्दा गुहार्दै म आजित भइसकेको छु,’ उनले भने । स्थानीयबासी फुर्पाको यो पहललाई ‘अल्पकालीन राहत’ भन्दै दीर्घकालीन समाधानको माग गरिरहेका छन् ।

नगरपालिकालाई पटक–पटक जानकारी गराउँदा पनि कुनै ठोस पहल नभएको उनीहरूको गुनासो छ । पानी अभावका कारण यहाँका खेतमा उमारिएका सागसब्जी र तरकारी सुकेर बिग्रिन लागेका छन् । 

उता पानी पर्ला र आफ्नो उब्जनीमा हरियाली छाउने आसमा बसेका स्थानीय हाल हतास अवस्थामा पुगेका छन् । माथिल्लो भेगमा १० रोपनीभन्दा बढी जमिन बाँझो राखिएका छन् । उता तल्लो भेगका ठोट्नेरी, भिरकुना, डाँडाबारीमा पनि पानीको उस्तै हाहाकार छ ।

यस क्षेत्रको जमिन अहिले सुख्खा र लगभग बाँझो छ । ०७२ सालको भूकम्प र पराकम्पनअघि यहाँ कोदो, मकै र अनेक फलफूलका बोटले सजिएको सम्झँदा यहाँका कृषकलाई अहिले सपनाजस्तै लाग्छ । पर्यटकीय गाउँका रूपमा चिनिने चुल्ठेमा भएको समस्याबारे जानकारी पाएको र वडासँग पर्यार्प्त बजेट नभएकाले माथिल्लो तह र तप्कामा हारगुहार मागिरहेको बाह्रबिसे नगरपालिका–९ का वडाध्यक्ष कृष्णबहादुर रायमाझीले बताए ।

‘वडाभर अन्य काम धमाधम भइरहेको छ, त्यहाँ स्थायी रूपमा पानी तान्न लिफ्टिङ गर्न सामान्य बजेटले हुँदैन, अब ठूलो बजेटको स्रोत चाहियो,’ उनले भने ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully