काठमाडौँ — १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आइएको विश्वास गरिने हिलेजात्रा पनौतीमा सुरु भएको छ । परम्पराअनुसार पुण्यमती खोलामा नागको प्रतिक स्वरूप दुईवटा बाँस तेस्र्याइएपछि नगरका देवगण (दुइचा न्याकेगू) ले पानी तरेर जात्रा सुरु भएको मानिन्छ ।
दुई दिन चल्ने यो जात्राका क्रममा राति भद्रकालीको रथ तानिन्छ । गैंडु पूजा गरिन्छ र विशेष होम गरिन्छ । चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा विधिपूर्वक पूजा–आराधना गरिन्छ । विशेषगरी इन्द्रेश्वर महादेव मन्दिरको पूर्वपट्टि रहेको महेश्वर गणेशको खट बोकेर नगर परिक्रमा गरिन्छ । पूर्णिमाको दिन जात्राको मुख्य रौनक हुने गर्छ । यस दिन भद्रकाली, महादेव र इन्द्रेश्वरका रथहरूलाई बजारमा दौडाइन्छ र अन्त्यमा तीनै रथलाई एक आपसमा जुधाइन्छ ।
पूजापाठ, देवगणको शोभायात्रा, रथ तान्ने, अबिर जात्रा, सांस्कृतिक कार्यक्रमहरू हुने भएकाले पनौती नगरपालिकाले मंगलबार र बुधबार सार्वजनिक बिदासमेत दिएको छ ।
