सिन्धुपाल्चोक — विगतका वर्षमा अनेकन विपद् झेल्दै आएको बाह्रबिसे नगरपालिकाले विपद् पूर्व आवश्यक तयारी थालेको छ ।
बाह्रबिसे नगरपालिकाका विपद शाखाका प्रमुख दुर्गाप्रसाद भण्डारीका अनुसार नगरभर ६३ बस्ती उच्च जोखिममा रहेको पहिचान गरिएको छ । जसमा करिब १७०० घरधुरी छन् । 'जसलाई सुरक्षित स्थानमा स्थानान्तरणको प्रक्रिया थालिँदैछ, भने ८१ विपद् खोज उद्धारकर्ता तयार पारिएको छ,' भण्डारीले भने ।
नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा आपतकालीन उद्धारमा प्रभावकारी हस्तक्षेप गर्न ८१ जना विपद् खोज तथा उद्धारकर्तालाई तयारी अवस्थामा राखेको छ । हालै सम्पन्न ४ दिने पुनर्ताजगी तालिममा थप १८ जनाले सहभागी भइ आवश्यक सीप हासिल गरेका छन् ।
जेठ २२ देखि सुरु भएको तालिम २५ गते सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहकार्य तथा बाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालन भएको तालिममा उद्धारसम्बन्धी पूर्वसूचना प्रणाली, खोज र उद्धार कार्य, तथा प्राथमिक उपचार सम्बन्धी व्यवहारिक ज्ञान दिइएको थियो ।
तालिमका प्रशिक्षकहरू भरतप्रसाद कोइराला, जगत तामाङ, सुजन विक र काजीरत्न महर्जन थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, उद्योग वाणिज्य संघ, डिभिजन वन कार्यालय, रेडक्रस र नगरपालिकाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
यसअघि बाह्रबिसे नगरको घुम्थाङ नागपुजे भीरखर्क र विक टोल, जम्बु, खाग्दलसहित भोटेकोशीको फुल्पिङकट्टी, तातोपानी दुगुनामा पहिरोले धेरैले ज्यान गुमाए । त्यस्ता घटना दोहोरिन नदिन जोखिम आकलन, बस्ती स्थानन्तरण र उपयोगी तालिम दिन थालिएको उनले बताए ।
आगलागी, बाढीपहिरो लगायतका विपद्को जोखिम न्यूनीकरण तथा आपत्कालीन तयारीलाई प्रभावकारी बनाउन तालिमले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
