हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले वातावरण संरक्षणका लागि इलेक्ट्रोनिक चार्जिङ स्टेसन जरुरी रहेको बताएका छन् । स्टेसनका कारण नेपाली पैसा विदेश जानबाट रोकिने भएकाले यस्ता सेवा विस्तार गर्न उनले सुझाव दिए ।
चार्जिङ स्टेसनको हेटौंडामा आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री लामाले नयाँ प्रविधि नेपालमा ल्याउने चिनियाँ कम्पनी हुवाबेलाई उताको ज्ञानलाई नेपाली बजारमा विस्तार गरी सहकार्यको वातावरण बनाउन आग्रहसमेत गरे ।
स्टेसन हेटौंडा उपमहानगरपालिका-११ मा स्थापना भएको छ । कार्यक्रममा उपमहानगर प्रमुख मीनाकुमारी लामाले हेटौंडाको पहिचानका रुपमा रहेको हरित हेटौंडालाई थप सुन्दर बनाउन चार्जिङ स्टेसनले मद्दत पुग्ने बताइन् । धुवाँ धुलोबाट सुरक्षित रहँदै प्रदेशको राजधानी सहरको वातावरणलाई सफा राख्न सकिने उनको भनाइ थियो ।
सञ्चालनमा आएको स्टेसनबाट ५ देखि १५ मिनेटभित्र सवारी फुल चार्ज हुने गाडी चार्जिङ स्टेसन प्रमुख प्रेशा श्रेष्ठले जानकारी दिइन् । करिब ११ महिनाको लामो प्रयासपछि वातावरणमैत्री सेवा सञ्चालनमा ल्याउन सकेको उनले बताइन् ।
