आइतबारदेखि कान्ति लोकपथ सञ्चालन हुने

जेष्ठ २५, २०८२

कान्तिपुर संवाददाता

Kanti Lokpath will be operational from Sunday

हेटौंडा — काठमाडौं जोड्ने सडक कान्ति लोकपथ आइतबारदेखि सञ्चालनमा आउने भएको छ । कान्ति लोकपथअन्तर्गत बागमती नदीको पुलमा मकवानपुरतर्फ बेलिब्रिज शनिबार रातिसम्ममा जडान गरिसक्ने भएकाले आइतबारदेखि कान्ति लोकपथ सञ्चालनमा आउने भएको हो ।

‘शनिबार राति १२ बजेसम्म काम गरेर भए पनि आइतबार बिहानदेखि कान्ति लोकपथ सञ्चालनमा ल्याउनेछौं,’ कान्ति लोकपथ सडक आयोजनाका प्रमुख रत्नलक्ष्मी बज्राचार्यले भनिन्, ‘जेठ २१ गतेदेखि बेलिब्रिज जडान गर्न २४ सै घण्टा कामदार र प्राविधिकहरू खटिरहेका छन् ।’

बागमती पुलको मकवानपुरतर्फ बेलिब्रिज जडान गर्न तीन वटा एक्स्काभेटरसहित करिब ५० जना कामदार र प्राविधिकहरू विगत चार दिनदेखि खटिएका छन् । बेलिब्रिजको संरक्षणका लागि ग्याबिन लगाउने कार्य पनि भइरहेको आयोजनाका इन्जिनियर साजन न्यौपानेले बताए ।

गत असोज ११ र १२ गते बागमती नदीमा आएको बाढीले बागमती पुलको मकवानपुरतर्फको एउटा स्पान बगाएपछि माटो र बालुवाको पहुँच मार्ग बनाएर कान्ति लोकपथ सञ्चालनमा ल्याइएको थियो । वर्षायाम सुरु नहुँदै बागमती नदीमा आएको बाढीले पटक–पटक पहुँच मार्ग बगाएपछि उक्त स्थानमा बेलिब्रिज जडान गर्न लागिएको हो ।

कान्ति लोकपथ सडक आयोजनाले जेठ २१ गते अर्थात् बुधबारदेखि २४ गते अर्थात् शनिबारसम्म चार दिन लोकपथ बन्द गरेर बेलिब्रिज जडान गरेको हो । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ बगुवास्थित बागमती नदीको पुलको मकवानपुरतर्फको एउटा स्पान गत असोज ११ र १२ गते बाढीले बगाएको थियो ।

उक्त स्थानमा कान्ति लोकपथ सडक आयोजनाले २४ दशमलव ४ मिटर लामो र ५ मिटर चौडाइ भएको बेलिब्रिज जडान गरेको छ । बेलिब्रिज जडान, ग्याबिनलगायत संरक्षणका कार्य गर्न निर्माण कम्पनीलाई करिब साढे एक करोडमा ठेक्का दिएको आयोजनाले जनाएको छ ।

कान्ति लोकपथ चार दिन बन्द हुँदा हेटौंडा–काठमाडौं र काठमाडौं–हेटौंडा चल्ने सवारीसाधनले कुलेखानी–कलंकी–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्दै आएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully