हेटौंडा — काठमाडौं जोड्ने सडक कान्ति लोकपथको बागमती खोलाको पुलको मकवानपुरतर्फ बेलिब्रिज जडान गरेपछि कान्ति लोकपथ आइतबार बिहान १० बजेबाट सञ्चालनमा आएको छ। कान्ति लोकपथअन्तर्गत बागमती खोलाको पुलमा मकवानपुरतर्फ बेलिब्रिज आइतबार बिहानसम्म जडान गर्ने कार्य सकेपछि कान्ति लोकपथ सञ्चालनमा आएको हो।
‘आइतबार बिहान पौने १० बजेसम्म बेलिब्रिज जडान गर्ने कार्य सकेकाले बिहान १० बजेदेखि कान्ति लोकपथ सञ्चालनमा ल्याएका हौं,’ कान्ति लोकपथ सडक आयोजनाका प्रमुख रत्नलक्ष्मी बज्राचार्यले भनिन्, ‘जेठ २१ गतेदेखि बेलिब्रिज जडान गर्न २४ सै घन्टा कामदार र प्राविधिकहरू खटेर यो सम्भव भएको हो।’
बागमती पुलको मकवानपुरतर्फ बेलिब्रिज जडान गर्न तीनवटा एक्स्काभेटरसहित करिब ५० जना कामदार र प्राविधिकहरू विगत ५ दिनदेखि खटिएका छन्। ‘बेलिब्रिजको संरक्षणका लागि ग्याबिन लगाउने कार्य पनि भइरहेको छ,’ आयोजनाका इन्जिनियर साजन न्यौपानेले बताए।
गत असोज ११ र १२ गते आएको बाढीले बागमती पुलको मकवानपुरतर्फको एउटा स्पान बगाएपछि माटो र बालुवाको पहुँचमार्ग बनाएर कान्ति लोकपथ सञ्चालनमा ल्याइएको थियो। वर्षायाम सुरु नहुँदै बागमती खोलामा आएको बाढीले पटक/पटक पहुँचमार्ग बगाएपछि उक्त स्थानमा बेलिब्रिज जडान गरिएको हो।
कान्ति लोकपथ सडक आयोजनाले जेठ २१ गते अर्थात् बुधबारदेखि २४ गते अर्थात् शनिबारसम्म चार दिन लोकपथ बन्द गरेर बेलिब्रिज जडान गरेको हो। मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ बगुवास्थित बागमती खोलाको पुलको मकवानपुरतर्फको एउटा स्पान गत असोज ११ र १२ गते बाढीले बगाएको थियो। उक्त स्थानमा कान्ति लोकपथ सडक आयोजनाले २४ दशमलव ४ मिटर लामो र ५ मिटर चौडाइ भएको बेलिब्रिज जडान गरेको छ।
बागमती पुलमा जडान गरिएको बेलिब्रिजको भारबहन क्षमता ३० टन मात्र छ। सडक आयोजनाले मकवानपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर दुवैतर्फ मालवाहक सवारी साधनलाई निगरानी गर्न अनुरोध गरेको छ। मालवाहक सवारी (ट्रक/ट्रेलर) को हकमा एकपटकमा एकतर्फी गुडाउनुका साथै अधिकतम कुल वजन ३० टन र अधिकतम प्रतिएक्सल वजन १० टन मात्र हुने गरी सवारी साधन सञ्चालन गर्नु पर्ने प्राविधिकहरूले बताएका छन्।
बेलिब्रिज जडान, ग्याविनलगायत संरक्षणका कार्य गर्न निर्माण कम्पनीलाई करिब साढे एक करोडमा ठेक्का दिएको आयोजनाले जनाएको छ। बागमती नदीको बगुवा खोलामा बेलिब्रिज राखेपछि कान्ति राजमार्ग आइतबार बिहान १० बजेदेखि सञ्चालनमा आएको छ।
कान्ति लोकपथ चार दिन बन्द हुँदा हेटौंडा–काठमाडौं र काठमाडौं–हेटौंडा चल्ने सवारी साधनले कुलेखानी–कलंकी–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गरेका थिए।
