सिन्धुपाल्चोक — जिल्लाको बाह्रबिसे नगरपालिका–९ स्थित नगर अस्पतालमा शनिबार आयोजित महिला पाठेघर र स्तन क्यान्सर स्क्रिनिङसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण शिविरबाट एक हजार महिला लाभान्वित भएका छन् । शिविर भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा साथी फाउन्डेसन नेपाल, बाह्रबिसे नगरपालिका र इलेक्ट्रो पावर कम्पनीको सहकार्यमा सञ्चालन गरिएको थियो ।
साथी फाउन्डेसनका अध्यक्ष तथा नेविसंघका पूर्वमहामन्त्री बलदेव तिमल्सिनाका अनुसार परीक्षण गरिएका एक हजारमध्ये करिब ३०० महिलाको नमुना परीक्षण लिइएको थियो । शिविरमा क्यान्सरका लक्षण लुकेर बसेका जोखिम समूह पहिचान गर्न सकिने अपेक्षा गरिएको छ ।
शिविरमा भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसे सहितको स्वास्थ्यकर्मी टोलीले परीक्षण गरेको थियो । सहभागी महिलाहरूको सामान्य स्वास्थ्य परीक्षण, भिडियो एक्स–रे, स्तन र पाठेघर स्क्रिनिङ लगायतका सेवा दिइएको थियो । परीक्षणमा सहभागी ३७१ महिलामा विभिन्न किसिमका स्वास्थ्य समस्या पत्ता लागेका छन् भने ७ महिलामा पाठेघरसम्बन्धी गम्भीर समस्या देखिएकाले थप उपचारको सिफारिस गरिएको डा. चालिसेले जानकारी दिए ।
केही स्वास्थ्य सामग्रीसमेत नगर अस्पताललाई हस्तान्तरण गरिएको थियो ।
