सिन्धुपाल्चोक — जिल्लाको उत्तरी नाका तातोपानी जोड्ने बाह्रबिसे–तातोपानी (२६ किलोमिटर) सडक खण्डको लार्चामा शनिबार बेलिब्रिज जोडिएको छ। गत वर्षको असोजमा आएको बाढीले लार्चा बेलिब्रिज बगाएयता भोटेकोसी नदीमा ह्युमपाइप राखेर जोखिमपूर्ण सडक सञ्चालन गरिएको थियो।
चरिकोट सडक डिभिजन कार्यालयका अनुसार प्राप्त ठेक्का समय डेढ महिनाभित्रै एक करोड ७० लाख बजेटमा ५४ मिटर लामो बेलिब्रिज जडान गरिएको हो।
'सोवर्ण निर्माण सेवा र क्रियटिभ कन्स्ट्रक्सन एन्ड सप्लायर्सले बेलिब्रिज तयार पारेका हुन्, लगभग फिनिसिङ भएर जोडिएको छ, अब एक हप्तामा बेलिब्रिज सञ्चालनमा आउनेछ,’ चरिकोट सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर सुरज महर्जनले बताएका छन्।
जेठ अन्तिममा फिनिसिङको काम सकेर सडक डिभिजनलाई हस्तान्तरण गरिने लक्ष्य राखिएको चरिकोट सडक डिभिजन कार्यालयले जनाएको छ। १५ चैतबाट सुरु भई जेठको तेस्रो सातामा बेलिब्रिज जडान गरिएको उनले जनाएका छन्।
भोटेकोसी गाउँपालिका वडा नम्बर २, ३ र ४ को एक मात्र मार्ग पहिरोले क्षतिग्रस्त मोटरेबल पुलको फुल्पिङसाइडमा डेब्रिज पन्छाएर जग बनाइएको छ। बर्खाअघि नै बेलिब्रिजको काम सक्न दिनरात खटिएको सोवर्ण निर्माण सेवाका प्रमुख अर्जुन थापाले जानकारी दिएका छन्। 'खटेअनुसार समयमा बेलिब्रिज जोड्न सफल भएका छौँ, चीन जोड्ने नाकामा बाढी–पहिरोको जोखिम उस्तै थियो,’ उनले भने।
