कुलेखानीको ‘ओभर फ्लो’ रोक्न गेट खोल्दा ड्यामको तल्लो भागमा रहेको सिमखोलाको पुलसँगै सडक क्षतिग्रस्त बनेको थियो
हेटौंडा — गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोले क्षतिग्रस्त कुलेखानी जलविद्युत् आयोजनाको ड्याममुनिको सिमखोलामा क्षतिग्रस्त पुलमाथि नै बेलिब्रिज राखिने भएको छ ।
पुलको दाँयाबायाँ अर्थात् पहुँचमार्ग नै बगाएकाले बेलिब्रिज राख्न लागिएको हो । यहाँ ल्याउनका लागि भसै-भीमफेदी सडकखण्डमा रहेका २ वटा बेलिब्रिज धमाधम झिक्ने काम भइरहेको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख नभिन सिंहले बताए । उक्त सडकखण्डको घट्टेखोलामा रहेको १३ मिटर लामो बेलिब्रिज झिकिसकिएको छ भने मान्डुखोलामा रहेको बेलिब्रिज पनि झिक्ने काम भइरहेको छ ।
सिमखोलामा ६० मिटर लामो बेलिब्रिज हाल्नुपर्ने भएकाले २ वटा बेलिब्रिज झिक्नुपरेको उनले बताए । घट्टेखोलाको बेलिब्रिज १३ मिटर लामो छ भने माण्डुखोलामा ५० मिटर लम्बाइको छ ।
असार १५ सम्म बेलिब्रिज हालेर सवारी आउजाउ गराउने लक्ष्यका साथ काम गरिरहेको बाग ती प्रदेशका भौतिक पूर्वाधारमन्त्री अमन मास्केले बताए । बेलिब्रिज राख्न,पक्की पहुँच मार्ग बनाउन र पुल वरिपरिको क्षतिग्रस्त सडक निर्माण गर्न गौरव इन्जिनियरियर्स प्रालिले एक करोड ८८ लाखमा ठेक्का पाएको छ ।
भारी वर्षासँगै कुलेखानी भरिएपछि ‘ओभर फ्लो’ रोक्न गेट खोल्दा इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सिमखोलाको पुलसँगै सडक क्षतिग्रस्त बनेको थियो । अहिले खोलाबाट डाइभर्सन गरेर सवारी सञ्चालन गरिएको छ ।
