हेटौंडामा साढे २० करोड लागतमा खानेपानी आयोजना निर्माण हुने

२ वर्षभित्र निर्माण सक्नेगरी सम्झौता

जेष्ठ २४, २०८२

प्रताप विष्ट

A water supply project will be constructed in Hetaunda at a cost of 200 crores

What you should know

हेटौंडा — हेटौंडा उपमहानगरपालिका, हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड र संघीय सरकार खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहलगानीमा हेटौंडामा साढे २० करोड लागतको खानेपानी योजना निर्माण हुने भएको छ ।

उपमहानगरको ९, ११, १४ र १५ नम्बर वडा लक्षित गर्दै सिमलटार–रातोमाटे सहलगानी खानेपानी योजना सञ्चालन हुने भएको हो । उपमहानगर, हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र निर्माण व्यवसायीबीच शुक्रबार निर्माण कार्यको सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

संघीय सरकारबाट २०७९ सालमा ८२ करोड बराबरको डीपीआर तयार भए पनि नेपाल सरकारबाट विगतमा आयोजना सञ्चालनका लागि स्रोत सुनिश्चतता हुन सकेको थिएन । चालु आव २०८१/०८२ मा २५ करोड बराबरको स्रोत सुनिश्चितता भई बोलपत्र आह्वान भएको ठेक्कामा निर्माण व्यवसायीले २० करोड ५६ लाख रुपैयाँमा २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउने सम्झौता गरिएको हो । 

उपमहानगर कार्यालयमा भएको सम्झौतापत्रमा नगर प्रमुख मीनाकुमारी लामा, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख पूर्णप्रसाद उपाध्याय, हेटौंडा खानेपानी बोर्ड र निर्माण पक्ष जयमाता सुप्रिम जेभीका कृष्णहरि चौलागाईंले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार उपमहानगर र खानेपानी व्यवस्थापन बोर्डको ३० र संघीय सरकारको ७० प्रतिशत लगानी रहनेछ ।

२० करोड ५६ लाखाको सहलगानीमा हेटौंडा–९ को बेदखोल्सीमा ६ लाख लिटर, हेटौंडा–१५ पिसपार्कमा २ लाख लिटर र हेटौंडा–१४ उत्तरपानीमा २ लाख लिटरको खानेपानी ट्यांकी निर्माण गरिने भएको छ ।

आयोजना प्रमुख उपाध्यायले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले २०२२ सालदेखि प्रयोगमा ल्याएको बुङदल मुहानको स्तरोन्नति एवम् पाइप लाइन सुधार विस्तारको कार्यसमेत यही योजनामा समावेश  भएको बताए ।

योजना सम्झौतामा नगरप्रमुख लामाले निर्माणको कामलाई गुणस्तरीय बनाउँदै चाँडै खानेपानीको व्यवस्थापन मिलाउने काममा लाग्न निर्माण पक्षलाई सुझाव दिइन् ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully