सिन्धुपाल्चोक — ‘११ वर्षको पीडापछि बल्ल हास्न सके, अहिले त फेरि जन्मिए जस्तो लागेको छ,’ त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीकी ७८ वर्षीया सानुमाया विकले सातादिन अघि शल्यक्रियापछि भनिन् । पाठेघर (आङ) खस्ने समस्याबाट वर्षौंदेखि थलिएकी उनी पिसाब चुहिने, ढाड दुख्ने, र मासु झुन्डिएको जस्तो असहज स्थिति बीच बाचिँरहेकी थिइन् । तर आर्थिक अभाव, लाज र जानकारीको कमीले उनले उपचारको सम्भावना देखिनन् ।
‘मलाई यस्तो शरीरमा समस्या भएको ६७ वर्षकी छँदादेखिको हो, भारी बोक्दाबोक्दै यस्तो समस्या देखा परेको हो, ७८ वर्षमा आएर आङ खसेको थाहा पाए अनि बल्ल उपचार पाए,’ उनले भनिन् । गाउँमा स्वास्थ्य शिविरमा उपचार पाएर खप्न नसकिने पीडाबाट मुक्त भएपछि जीवन फेरिएको महसुस गरेको उनले बताइन् । थामीजस्तै त्रिपुरासुन्दरी–४ की ८० वर्षीया सोममाया तामाङ र ५ की कृष्णकुमारी विक पनि पाठेघरको शल्यक्रियापछि नयाँ ऊर्जा र आत्मविश्वाससँग जीवन बिताइरहेका छन् । ‘थाहा नै थिएन पाँच वर्षर्अघि पाठेघर खसेको रहेछ, अब मर्ने भए पनि आनन्दले मर्छु । गाउँपालिकाले भगवान् झैं सहयोग गर्यो,’ तामाङले भनिन् । त्यसरी नै सिन्धुपाल्चोकमा आमा बचाउ अभियान सुरु गरेयता ७१ जनाको पाठेघर खसेको शल्यक्रिया भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिकाले आयोजना गरेको निःशुल्क शिविरमा यी सबैको शल्यक्रिया गर्नुपर्ने पहिचान भएको थियो । जसमा केर्ही अस्पताल आउन मानेका छैनन् भने केहीको रक्तचाप उच्च भएकाले शल्यक्रिया हुन सकेको छैन् ।
त्रिपुरासुन्दरी गाउँपालिकाले सुरु गरेको ‘आमा बचाउ अभियान’ अन्तर्गत अहिलेसम्म ७१ महिलाले आङ खसेको उपचार पाएका छन् । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण शाहकाअनुसार गाउँपालिकाको अनुरोधमा काभ्रेको बनेपास्थित शीर मेमोरियल अस्पतालले निशुल्क शल्यक्रिया गरिदिएको हो । ‘अहिले १६ जना महिलाको उपचार भइरहेको छ भने यो आर्थिक वर्षभित्र १७ जनाको निशुल्क शल्यक्रिया गर्ने लक्ष्य छ, अहिलेसम्म ७१ आमाले आङ खसेको उपचार पाएका छन्,’ शाहले भने । यो अभियानका लागि यातायातसहित अन्य खर्चका लागि गाउँपालिकाले हालसम्म ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।
त्रिपुरासुन्दरी गाउँपालिकाले ६ वटै वडामा सञ्चालन गरेको एकदिने स्वास्थ्य शिविरमा ५ सय २१ महिलाले स्वास्थ्य परीक्षण गराएका थिए । धेरै महिलाले लाज वा जानकारीको अभावमा आफ्नो समस्या र लक्षण लुकाउँदै आएका थिए । गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराकाअनुसार कम उमेरमा विवाह, धेरै सन्तान, गह्रौ भारी बोक्ने र लामो समय टुक्रुक्क बस्ने महिलामा यो समस्या अत्यधिक देखिन्छ । महिलाले समस्या महिलालाई खुलेर भन्ने अपेक्षामा कार्यपालिकाले आफूलाई आमा बचाउ अभियानको जिम्मा दिएको उपाध्यक्ष गीताकुमारी नेपालले बताइन् । आर्थिक वर्ष ०७९/८० देखि हरेक वर्ष शिविरमार्फत पाठेघर खस्ने समस्याको पहिचान गरी उपचार गर्दै आएको उनको भनाइ छ । पहिलो वर्ष ११ जना, दोस्रो वर्ष १३ जनाको शल्यक्रिया गरिएको थियो । आगामी वर्षमा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ । प्रदेश सरकारबाट ‘शून्य’ बजेट भएका कारण गाउँपालिकाको नेतृत्वमा यो अभियान थालिएको गाउँपालिकाले जनाएको छ ।
