काभ्रे — काभ्रेको पाँचखाल नगरपालिकामा एक टिपरमा रातिको समयमा अचानक आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, राति करिब १२ : ३० बजे तल्लो जीपलाइन क्षेत्रस्थित अरनिको राजमार्ग खण्डमा भएको हो।
दोलखा कालिञ्चोक गाउँपालिका–७ निवासी २७ वर्षीय नवराज सिवाकोटीले चलाइरहेको बा २ क ६१२५ नम्बरको बालुवा लोड टिफर भक्तपुरतर्फ गइरहेको र अचानक सवारीको रेस अस्वाभाविक रूपमा बढेपछि चालकले गाडी रोक्दै पम्पको तार र फ्युज झिक्ने प्रयास गर्दा गाडीमा आगो सल्किएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए।
उनका अनुसार, मानविय क्षति नभए पनि गाडीमा क्षति भएको जनाइएको छ। समयमै खबर पाउनेबित्तिकै नेपाल प्रहरी, पाँचखाल नगर प्रहरी तथा दमकल टोली घटनास्थलमा पुगेका थिए। करिब एक घण्टापछि, बिहान १:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।
स्थानीय बासिन्दा तथा प्रत्यक्षदर्शीहरूका अनुसार यदि चालकले समयमै गाडी रोक्ने निर्णय नगरेको भए आगोले ठुलो क्षति पुर्याउने थियो।
