मकवानपुर — बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
त्यसअघि बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सदनमा उठेका प्रश्नको जवाफ दिएका थिए । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम निकै उत्कृष्ट भएको दाबी गरेका थिए ।
मुख्यमन्त्री लामाले चालु खर्च घटाउन सबै एकजुट हुनुपर्ने बताए । उनले चालु खर्च घटाउन अनावश्यक संरचनाहरु बढी नबढाउनुका साथै दिगो कार्यक्रमहरु आवश्यक भएको बताए । मुख्यमन्त्री लामाले अध्यावद्यिक योजनाहरु कति हुन्छ भन्ने कुराको मूल्यांकन गर्नुपर्ने र प्रदेश सरकारले गरेको लगानीहरु के–के भइरहेका छन् भन्ने कुराको पनि समीक्षा गर्नुपर्ने बताए ।
उनले प्रदेश सरकार निजी क्षेत्रसँग पनि सहकार्य गरेर अगाडि बढ्नु पर्ने धारणा राखे । सदनमा भ्रष्टाचारको कुरा धेरै उठेको भन्दै नियन्त्रण गर्न कस्को कति सम्पत्ति छ ? विधि बनाएर डाटा तयार पार्न सबैलाई आग्रह गरे ।
मुख्यमन्त्री लामाले प्रदेशमा साना योजनाको चाङ लागेको भन्दै ठूला गौरवका योजना दिगो हुने गरी प्राथमिकता दिए बताए । लामाले अर्थतन्त्र चलायमान गर्नका लागि लोकप्रिय मात्रै नभई दिगो विकास हुने कार्यक्रममा जोड दिएको दाबी गरे । उनले नीति तथा कार्यक्रमले विशेषगरी बागमती प्रदेशको आर्थिक तथा सामाजिक क्षेत्रलाई सबल बनाउनुका साथै प्रदेशलाई सुशासनयुक्त र आत्मनिर्भर बनाउन सक्षम हुने दाबी पनि गरे ।
यसअघि १४ जेठमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रस्तुत भएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सोमबार, मंगलबार र बुधबारसमेत सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए ।
बागमती प्रदेशसभाको बैठक यही जेठ ३० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको सभामुख पाठकले जानकारी गराए ।
