काभ्रे — पुलका सामग्री चोरी प्रकरणमा काभ्रेको रोशी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष अशोक गौतम पक्राउ परेका छन् ।
गत असोज १२मा निरन्तर वर्षापछिको बाढीले बगाएको फलामको पुलका सामग्री चोरेर कबाडीमा बेचेको आरोपमा वडाध्यक्ष अशोक गौतम पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी मीनबहादुर घलेले जानकारी दिए । उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले सोमबार पक्राउ गरेको हो ।
डीएसपी घलेका अनुसार २०८१ असोज १० देखि १२ सम्मको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले नमोबुद्ध नगरपालिका वडा नं. ६ र रोशी गाउँपालिका वडा नं. ७ जोड्ने फलामको पुल बगाएको थियो । सोही पुलका बाँकी फलामका सामग्री अनधिकृत रूपमा कबाडीमा बिक्री गरिएको अनुसन्धानबाट खुलेको हो ।
अनुसन्धानका क्रममा कबाड व्यवसायी मन्टु कुमारले दिएको बयानअनुसार अध्यक्ष गौतमले पुलका सामग्री बेचेर प्राप्त रकम मोबाइल बैंकिङमार्फत भुक्तानी लिएका थिए। व्यवसायीको बयान र भुक्तानीको प्रमाणका आधारमा गौतमलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उक्त बिक्री प्रक्रिया अध्यक्ष गौतम र नमोबुद्ध नगरपालिका–६ का वडा अध्यक्ष टिकाबहादुर केसीको आपसी सहमतिमा भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार, पुलको बाँकी सामान कबाडीमा बेच्दा उनीहरूले मूल्य आधा–आधा बाँड्ने समझदारी गरेका थिए ।
प्रहरीले राति लोड गर्न बोलाइएका दुई टिपरलाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यवसायीहरूले वडा कार्यालयको सिफारिस र भुक्तानीको प्रमाण पेस गरेका थिए । ती प्रमाणका आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
डीएसपी घलेका अनुसार, उपलब्ध प्रमाणका आधारमा पक्राउ परेकाहरूमाथि चोरीसम्बन्धी मुद्दा दर्ता गरिएको छ । म्याद थपका लागि मंगलबार जिल्ला अदालत काभ्रेमा उनीहरूलाई पेस गर्ने कार्यतालिका रहेको उनले जानकारी दिए ।
उक्त घटनामा संलग्न भारतको बिहार मोतिहारी घर भई हाल काभ्रे बनेपा–७ मा बस्दै आएका ३२ वर्षीय मन्टु कुमार, सर्लाहीको मलंगवा–३ घर भई, हाल बनेपा–७ बस्दै आएका ३९ वर्षीय जितेन्द्र पासवान र बा ५ ख ४६२६ नम्बरको टिपर चालक भुम्लु गाउँपालिका–९का ४७ वर्षीय मानबहादुर तामाङ र बा २ ख ४००१ नम्बरको टिपर रोशी गाउँपालिका–८ का ४० वर्षीय रमेश लामालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । उनीहरू सबैमाथि मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
