दुध दिवसमा बालिका आश्रम र चेपाङ छात्राबासमा खिर

जेष्ठ १८, २०८२

रमेशकुमार पौडेल

Khir at the Girls Ashram and Chepang Hostel on Milk Day

चितवन — विश्व दुध दिवसको अवसर पारेर आइतबार चितवन देवघाटधामको बालिका आश्रम र रत्ननगर मंगलपुरमा रहेको चेपाङ विद्यार्थी बस्ने छात्राबासमा खिर खुवाउने कार्यक्रम सम्पन्न भएको छ । चितवन पशु सेवा कार्यालयको सहयोगमा जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले उक्त कार्यक्रम आयोजना गरेको हो । यो वर्ष २५ औं विश्व दुध दिवस परेको छ ।

जिल्ला दुग्ध सहकारीले तीन वर्षयता दुध दिवसमा बालिका आश्रममा कार्यक्रम गर्दै आएको छ । देवघाटको चितवनतर्फ लोक कल्याण सेवा प्रतिष्ठान श्री रामजानकी बालिका आश्रममा बस्ने बालिकाहरू त्यहाँको कन्या गुरुकुलममा पढ्छन् । त्यसै गरी मंगलपुरमा गामबेसी चेपाङ संरक्षण केन्द्रले सञ्चालन गरेको छात्राबासमा बसेर चेपाङ बालबालिका तथा किशोरकिशोरी छात्राबास नजिकका विद्यालय र कलेजमा पढ्दै आएका छन् ।

दुग्ध सहकारीका चितवन जिल्ला उपाध्यक्ष रामेश्वर ओलीले दुधको पोषण र उपयोग विधिका बारेमा जानकारी गराउँदा खपत बढ्ने भएका कारणले विश्व दुध दिवसको अवसर पारेर बालबालिकाका लागि कार्यक्रम गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि दुग्ध केन्द्रीय सहकारीका उपाध्यक्ष भागीरथ तिमिल्सिनाले दुध किसान संकटमा परेको हुँदा राज्य र समुदायले किसानको हित सोचेर काम गर्नुपर्ने धारणा राखे ।

‘हामीले दुध उत्पादन गरिरहेका छौं । तर उत्पादन भएको दुध बेच्न सकस छ । बल्लतल्ल बिक्री भए पनि समयमा भुक्तानी पाइन छाडेको छ । यस्तो समस्यामा परेका किसानका बारेमा सोच्न सरकारलाई सबैले घचघच्याउन आवश्यक छ,’ तिमिल्सिनाले भने । जिल्ला दुग्ध उत्पादक सहकारीका अध्यक्ष किशोर बगालेले दुध बिक्री गरेबापत चितवनका किसानले ८० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताए ।

‘दुग्ध विकास संस्थानले नै ६ महिनासम्मको भुक्तानी दिएको छैन । सात महिनासम्म भुक्तानी नदिने निजी डेरी उद्योग पनि छन् । नेपाली किसान ठूलो मर्कामा छन्,’ जिल्ला अध्यक्ष बगालेले भने । चितवनबाट ४०/४२ वटा डेरी उद्योगले दुध लैजाने गरेका छन् । जसमा नियमित १५ दिन बिराएर पैसा भुक्तान गर्ने डेरी उद्योगहरू दुई चारवटा मात्रै रहेको उनले बताए । 

अध्यक्ष बगालेका अनुसार चितवनमा ११५ वटा दुग्ध उत्पादक सहकारी संस्था छन् । जसमा ४० हजार किसान आबद्ध रहेको उनले जानकारी दिए । जिल्लामा दैनिक ३ लाख ५० हजार लिटर दुध उत्पादन हुने गरेको तथ्यांक छ । जिल्लामा उत्पादन भएकोमध्ये ५१/५२ प्रतिशत दुध जिल्ला बाहिर जाने गरेको छ । किसानले उचित मूल्य र भुक्तानी नपाउने तर उपभोक्ताले महँगोमा खानु पर्ने अवस्था अन्त्य हुनु पर्ने उनले बताए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully