अपांगता भएकी रुबिनाले पाइन् नागरिकता

शारीरिक अपांगता भएर जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्नेका लागि प्रशासनले घरमै पुगेर सेवा दिने प्रतिबद्धता

जेष्ठ १६, २०८२

प्रताप विष्ट

Handicapped Rubina got citizenship

काठमाडौँ — मकवानपुरको थाहा नगरपालिका–४, नारायण झ्याउकी रुबिना रुम्बालाई वडाको पहलमा नागरिकता प्रमाणपत्र प्रदान गरिएको छ ।

रुम्बा शारीरिक एवं मानसिक अपांगता भएर हिँडडुल गर्न सक्दिनन् । वडा कार्यालयको समन्वयमा नगरकै सवारीसाधनमा जिल्ला प्रशासन कार्यालय हेटौंडा लगेर २२ वर्षीय रुम्बालाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराइएको हो । 

रुम्बालाई प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जिल्ला प्रशासन कार्यालयको प्रांगणमा आएर नागरिकता उपलब्ध गराएकी थिइन् । उनले शारीरिक अपांगता भएर जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्नेका लागि प्रशासनले घरमै पुगेर सेवा दिने प्रतिबद्धता जनाइन् ।

अति अशक्त, अपांगता भएकाहरू प्रशासन कार्यालय जना नसक्दा उनीहरु नागरिकताविहीन हुने र सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न वडा कार्यालय लागिरहेको वडाध्यक्ष नारायण लामाले बताए । २०८० सालमा पनि शारीरिक एवं मानसिक अपांगता भएका दुई जनालाई वडा कार्यालयको सक्रियतामा प्रशासन कार्यालयमा ल्याएर नागरिकताको प्रमाणपत्र उपलब्ध गराइएको थियो ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully