हेटौंडा — गणतन्त्र दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकारले हेटौंडामा बिहीबार गत असोजमा ललितपुरको नख्खु खोलामा आएको बाढीमा बगेका दुई जनाको ज्यान जोगाउने चणिकलाल तामाङलाई एक लाख ५० हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ ।
गत असोज १२ गते नख्खु खोलाको बाढीले बगाएका रौतहट घर भई ललितपुर महानगरपालिका–२५ सुगम बस्ती टोल बस्ने ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरी बचाएका काभ्रेको तेमाल गाउँपालिका–९ का चणिकलाललाई प्रदेश सरकारले सम्मान गरेको हो ।
गत असोज १२ गते नख्खु खोलाको बाढीले राजु र उनकी छोरी मेघनालाई बगाएर करिब ३ सय मिटर तल पुर्याइसकेको थियो । त्यस क्रममा बाढीमै हेलिएर चणिकलाले उनीहरूलाई उद्धार गरी अस्पताल पुर्याएका थिए ।
गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारले हेटौंडामा बिहीबार आयोजना गरेको र्यालीसहितको प्रवचन कार्यक्रममा हेटौंडाका कान्तिपुरकर्मी प्रताप विष्टलाई उक्त समारोहमा अग्रज पत्रकार सम्मानद्वारा सम्मानित गरिएको थियो ।
उक्त समारोहमा धादिङका पत्रकार नवराज छत्कुली, चितवनका पत्रकार नेपोलियन चेपाङ, शोभा अर्याल–काठमाडौं, कमला तामाङ–सिन्धुपाल्चोक, रामचन्द्र अर्याल–नुवाकोट र कुमारभक्त रञ्जितसहित सात जना पत्रकारलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री बहादुरसिंह लामा र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले पुरस्कार प्रदान गरेका थिए ।
