चितवन — नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल नजिक बिहीबार राति सवा दुई बजेतिर गुड्दै गरेको बसमा माथिबाट ढुंगा खसेको छ । ढुंगाले लाग्दा बसको ढोका र ढोका छेउमा क्षति पुगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौंबाट अर्घाखाँची जान नारायणगढतर्फ आइरहेको लु २ ख २१४२ नम्बरको बसमा सडकमाथिबाट खसेको ढुंगाले लागेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रवीन्द्र खनालले बताए ।
ढोका र ढोका छेउमा क्षति पुगे पनि बसमा रहेका कसैलाई केही नभए र बाटो अवरोध पनि नभएको हुँदा चालक रेमबहादुर थापाले बसलाई गन्तव्यतर्फ लगेको डिएसपी खनालले बताए । बर्खामा नारायणगढ–मुग्लिन सडकको यात्रा जोखिम पूर्ण हुने गरेको छ ।
गत वर्ष असार २८ मा सिमलताल नजिकै दुई यात्रु बस सडकमा आएको लेदोमा परी त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए । सोही दिन सिमलतालभन्दा केही वर यात्रु बसमा ठूलो ढुंगा खस्दा चालकको मृत्यु भएको थियो ।
