बागमती प्रदेशसभाः नीति तथा कार्यक्रम सार्वजनिक

जेष्ठ १५, २०८२

रासस

Bagmati Provincial Assembly: Policy and program announced

मकवानपुर — बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको आज बसेको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । उहाँले बागमती प्रदेश सरकारको नीति कार्यक्रम सार्वजनिक गर्दै ‘एकीकृत बस्ती, समृद्ध सहरको नीति’ अन्तर्गत दिगो आर्थिक समृद्धिका लागि भौतिक पूर्वाधार निर्माण गर्ने, सार्वजनिक तथा निजी लगानीलाई प्रवर्द्धन गर्ने र एकीकृत बस्ती विकासलाई गुरुयोजना तर्जुमा गरी प्रदेशभित्र कार्यान्वयन गर्दै लैजाने बताए।

प्रदेश प्रमुख देवकोटाले ‘किसानको हात सरकारको साथ’ भन्ने अभियानलाई साना, अर्धव्यवसायी, निर्वाहमुखी, विपन्न, सीमान्तकृत सेवाबाट वञ्चित भएका किसानको जीविकोपार्जन र सुधारसँग जोड्ने कार्यक्रम सञ्चालन गर्नेतर्फ नीति कार्यक्रमले जोड दिएको जानकारी दिए।

प्रदेश प्रमुख देवकोटाले रासायनिक मल, औषधि, विषादी, फलफूल र बीउ बिजन तथा मासु, दूध र दानालगायत वस्तुमा गुणस्तरीय मापदण्ड सुनिश्चित गर्न प्रभावकारी नियमन गरिने उल्लेख गरे । साथै दुर्गम क्षेत्रका विशेषज्ञ चिकित्सकको उपलब्धता सुनिश्चित गर्न विशेष प्रोत्साहन योजना कार्यान्वयनमा ल्याइनेछ।

त्यसै गरी प्रदेशभित्र रहेका आयुर्वेद औषधि उत्पादन केन्द्रबाट २१ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरी वितरण गरिने सरकारको लक्ष्य रहेको प्रदेश प्रमुख देवकोटाले जानकारी दिए। प्रदेशभित्र आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालयबाट विशेषज्ञ आयुर्वेदिक सेवा विस्तार गर्ने र स्वास्थ्य पर्यटनलाई प्रवर्द्धन गरिनेछ।

जनस्वास्थ्य विपद् पूर्व तयारी तथा प्राकृतिक विपद् न्यूनीकरण कार्यलाई सुदृढीकरण गर्दै लैजाने लक्ष्यका साथ जिल्ला जिल्लामा आवश्यकताअनुरूप स्वास्थ्य शिविर सञ्चालन गर्ने दृढता सरकारले व्यक्त गरेको छ। नीति तथा कार्यक्रममा लोपोन्मुख र अतिसीमान्तकृत समुदायका बालबालिकाको पहुँच र गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि सामुदायिक विद्यालयमा आवासीय कार्यक्रमलाई निरन्तरता दिँदै लैजाने उल्लेख छ।

खेलकुदको पूर्वाधार विकासलाई र प्रशिक्षणको व्यवस्था गरी व्यावसायिक, प्रतिभावान्, व्यावसायिक तथा अन्तर्राष्ट्रिय पद हासिल गरेका खेलाडीलाई खेल क्षेत्रमा प्रोत्साहन गर्ने नीति लिइएको प्रदेश प्रमुख देवकोटाले बताए। चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारको सह लगानीमा निर्माण गरी प्रतिफल बाँडफाँडको व्यवस्था गरिने बताइएको छ।

मकवानपुरको हेटौँडाको गौरी टारमा निर्माणाधीन अन्तर्राष्ट्रिय खेलकुद र प्रदेशमा निर्माणाधीन अन्य खेलकुद पूर्वाधारका कार्यलाई निरन्तरता दिइनेछ। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमलाई स्थानीय तहसम्मको सहकार्यमा समुदाय स्तरसम्म विस्तार गरिनेछ र ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि’ अभियानलाई निरन्तरता दिइने जनाएको छ।

ज्यान जोखिममा रहेका गर्भवती र सुत्केरी आमाको निःशुल्क हवाई उद्धार कार्यक्रमलाई निरन्तरता दिइनेछ। प्रदेशस्थित सिन्धुली, मकवानपुर र चितवन जिल्लामा पर्ने मदन भण्डारी राजमार्ग र पूर्वपश्चिम राजमार्ग क्षेत्रलाई औद्योगिक तथा बजार क्षेत्रका रूपमा विकास तथा प्रवर्द्धन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले प्रदेश प्रमुख देवकोटालाई सरकारको नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्ने कार्यक्रमको प्रति हस्तान्तरण गर्नुभयो। सरकारद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम ११६ बुँदामा विभिन्न शीर्षक समावेश गरी सार्वजनिक गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताए।

रासस

Link copied successfully