काभ्रे — जिल्लास्थित धुलिखेल अस्पतालमा आधुनिक सुविधा सहितको १०० शय्याको ट्रमा तथा इमरजेन्सी सेन्टर निर्माण हुने भएको छ । नेपाल सरकार र जापान सरकारको सहकार्यमा बन्न लागेको सेन्टरको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका हुन् ।
उनले ट्रमा सेन्टर शिलान्यास गर्दै यसले नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ युगको सुरुवात भएको दाबी गरे । आकस्मिक उपचार र आपतकालीन स्वास्थ्य सेवामा यस्तो केन्द्रको आवश्यकता रहेको उनको भनाइ थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले धुलिखेल अस्पताल परिसरमै निर्माण हुन लागेको ट्रमा सेन्टरले स्वास्थ्य क्षेत्रमा नयाँ थप्न मद्दत पुग्ने बताए । सातै प्रदेशमा ट्रमा सेन्टर विस्तार गर्ने सरकारको योजनाअनुसार यो परियोजना अन्तिम चरणमा पुगेको उनको भनाइ थियो ।
स्वास्थ्य क्षेत्रमा अझ सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षको बजेटमा सामुदायिक अस्पतालहरुलाई आर्थिक अनुदान प्रदान गर्ने योजना राखिएको बताए । साथै, स्वास्थ्य सेवा पहुँच विस्तार गर्न बिमा प्रणालीलाई मजबुत बनाउने तथा सबै नागरिकलाई एकद्वार प्रणालीमार्फत बीमाको पहुँचमा ल्याउने नीति अघि सारिएको पनि बताए ।
ट्रमा सेन्टरको निर्माणका लागि जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी र अर्थ मन्त्रालयबीच ३.८७९ बिलियन जापनिज ऐन लगानीको सम्झौता भइसकेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.रामकण्ठ माकाजु श्रेष्ठले जानकारी दिए । उनका अनुसार, यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यस परियोजनाको कार्यकारी निकाय र धुलिखेल अस्पताल कार्यान्वयन निकायको रुपमा रहनेछ ।
सन् २०२७ सम्म पूरा हुने लक्ष्यसहित निर्माण हुने यो केन्द्रले काभ्रे, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर तथा तराईका सडक सञ्जालमा पर्ने क्षेत्रका घाइते र आकस्मिक बिरामीलाई अत्याधुनिक सेवा दिने लक्ष्य राखिएको उनले बताए । उनका अनुसार, एमआरआई, सिटी स्क्यान, भेन्टिलेटर, एक्स-रेजस्ता उपकरणको प्रयोगबाट बिरामीलाई समयमै उपचार दिन सक्षम हुने आशा लिइएको छ ।
तीन दशकदेखि गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आएको यस अस्पतालमा सुरु हुन लागेको नयाँ पहलले पूर्वी पहाडी क्षेत्रको स्वास्थ्य सुरक्षामा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएका उनको भनाइ थियो । धुलिखेल अस्पतालले सन् २०१४ देखि नै ट्रमा सेन्टरको अवधारणा अघि सारेको थियो । सवारी दुर्घटनाबाट हुने मृत्यु र गम्भीर चोटको दर बढिरहेका सन्दर्भमा अस्पतालमा ट्रमा सेन्टरको निर्माण अपरिहार्य रहेको सेन्टरका प्रमुख प्रा.डा. दिपक श्रेष्ठले बताए ।
