विपद् प्रतिकार्यका लागि १२ क्लष्टरको कार्ययोजना सार्वजनिक

जेष्ठ १३, २०८२

ज्योती श्रेष्ठ

Action plan of 12 clusters for disaster response announced

काभ्रे — मनसुनजन्य तथा अन्य सम्भावित विपद्हरूलाई लक्षित गरी काभ्रेपलाञ्चोकमा १२ वटा विभिन्न क्लष्टरमार्फत पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना सार्वजनिक गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ, पूर्वाधार विकास, सामाजिक सुरक्षा, वातावरण, उद्योग तथा वाणिज्य, कृषि, खाद्य तथा पशु सेवा, सहरी विकास कार्यालय, सुरक्षा निकाय, सञ्चार क्षेत्र लगायतका क्लष्टरहरूबाट विपद् प्रतिकार्यका कार्ययोजना प्रस्तुत गरिएको थियो ।

आगामी दिनहरूमा उत्पन्न हुन सक्ने विपद्का जोखिमलाई न्यूनीकरण गर्दै प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्न क्लष्टरगत योजनाहरूको कार्यान्वयनमा जोड दिइएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए । 

उनका अनुसार, यस कार्यक्रमको उद्देश्य भनेको मनसुन सुरु हुनु अघि नै जिल्लास्तरमा व्यापक तयारी गर्नु, सम्भावित विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्नु र आपतकालीन अवस्था उत्पन्न भएमा छिटो र प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्नु हो ।

कार्यक्रममा सहभागी क्लष्टर प्रतिनिधिहरूले एकअर्काको योजना र जिम्मेवारीका विषयमा छलफल गर्दै समन्वय र सहकार्यमा जोड दिएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार मनसुन सुरु हुनु अघि नै आवश्यक तयारी पूरा गरी जोखिम न्यूनीकरण र आपतकालीन प्रतिकार्य प्रभावकारी बनाउने लक्ष्य लिइएको छ । 

संभावित बाढी, पहिरो वा अन्य विपद्मा घाइते तथा बिरामीको प्राथमिक उपचार, औषधि आपूर्ति, जनस्वास्थ्य सचेतना तथा आकस्मिक स्वास्थ्य सेवाको व्यवस्थापनमा ध्यान केन्द्रित हुने, विपद्ले विद्यालयहरूमा पर्न सक्ने प्रभावको मूल्याङ्कन, सुरक्षित विद्यालयको अवधारणा प्रवर्द्धन, वैकल्पिक सिकाइको तयारी र जोखिम न्यूनीकरणसम्बन्धी सामग्री वितरण गर्ने, विपद्का बेला सुरक्षित खानेपानी पहुँचको सुनिश्चितता, स्वच्छता सामग्रीको भण्डारण तथा आपूर्ति व्यवस्था, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, तत्काल उद्दार, जनशक्ति परिचालन, सडक तथा सम्पर्क व्यवस्थापन, आकस्मिक व्यवस्थापन योजनामा सक्रिय सहभागिता रहने, सूचना प्रवाहलाई छिटो, प्रभावकारी र सही बनाउने, समुदायस्तरसम्म विपद् सम्बन्धी जानकारी पुर्‍याउने रणनीति कार्यान्वयन गर्ने लगायतका विषयमा केन्द्रित रहेर विभिन्न क्लष्टरबाट कार्ययोजना प्रस्तुत गरिएको थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिले प्रस्तुत कार्ययोजनाहरूलाई जिल्लाका १३ वटै स्थानीय तहमा पठाउने तयारी भएको जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले बताए । उनका अनुसार, स्थानीय तहका विपद् व्यवस्थापन समितिहरूले यी योजनालाई स्थानीय सन्दर्भअनुसार कार्यान्वयनमा ल्याउनेको लागि आवश्यक सहजीकरण र समन्वय गरिनेछ । 

क्लष्टरगत समन्वय र बहुक्षेत्रीय सहकार्यमार्फत विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्य लिइएको छ ।  विपद् व्यवस्थापन एकीकृत र बहुक्षेत्रीय समन्वयमा आधारित हुनुपर्नेमा उनले जोड दिए । ‘विपद् प्रतिकार्य केवल एउटा निकाय वा क्षेत्रको जिम्मेवारी होइन,’ उनले भने, ‘सबै क्षेत्र मिलेर योजना बनाउने र कार्यान्वयनमा लैजाने हो भनेमात्र जनधनको क्षति कम गर्न सकिन्छ ।’

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully