पनौतीको १२ वडाका ४० जनालाई विपद् स्वयंसेवक तालिम 

जेष्ठ १२, २०८२

ज्योती श्रेष्ठ

Disaster volunteer training for 40 people from 12 wards of Panauti

काभ्रे — काभ्रेको पनौती नगरपालिकाको १२ वटा वडाका ४० जनालाई विपद् स्वयंसेवक तालिम दिन सुरु गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल, गण नं १५ मुख्यालय काभ्रेले पनौती नगरपालिकासँगको सहकार्यमा नगर क्षेत्रभित्रका १२ वडाका ४० जनालाई लक्षित गरी विपद् स्वयंसेवक आधारभूत तालिम सोमबारबाट सुरु गरेको हो ।

सोमबारबाट सुरु भएको  तीन दिने उक्त तालिममा विपद् पूर्व तयारी, विपद्पछिको उद्धार, राहत तथा समन्वयसम्बन्धी अभ्यास गराइने जानकारी दिइएको छ । 

तालिमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले विपद् व्यवस्थापनमा समुदाय स्तरको सक्रियता अपरिहार्य रहेको बताउँदै उनले भने, ‘तत्कालै सुरक्षा निकाय पुग्न नसक्ने अवस्थाहरूमा वडा स्तरीय स्वयंसेवकले प्रभावकारी भूमिका खेल्न सक्छन् ।’ सचेतनाबाटै विपद्को जोखिम न्यूनीकरण सम्भव हुने उनले बताए । 

कार्यक्रममा पनौती नगरपालिकाकी उपप्रमुख गीता बन्जाराले विगतमा असोज १०–१२ मा आएको बाढी, पहिरो र वैशाख महिनामा परेको अविरल वर्षाले दिएको क्षतिको स्मरण गर्दै त्यस्ता घटनाले जनस्तरमा एउटा पाठ सिकाएको र विपद्जन्य घटना बारे सचेत बन्नुपर्ने आवश्यकता औँल्याइन् ।

तालिमका बारेमा जानकारी दिँदै सशस्त्र प्रहरी बल नेपाल, गण नं १५का प्रमुख प्रहरी उपरीक्षक प्रेम प्रसाईँले विपद्पछि उद्धार तथा राहत कार्यमा तालिमप्राप्त स्वयंसेवकहरूको योगदान महत्त्वपूर्ण हुने बताए । नेपाल रेडक्रस सोसाइटी, काभ्रे शाखाको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको उक्त तालिम जिल्लाका अन्य पालिकामा पनि विस्तार गर्ने तयारी भइरहेको जानकारी उनले दिए ।

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully