काठमाडौँ — अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-साँगा खण्डमा सुक्खा पहिलो खस्दा आज एक मजदुर घाइते भएका छन् ।
सूर्यविनायक नगरपालिका-१० साँगाको झोलुङ्गे पुलमुनि सुक्खा पहिरो खस्दा सडक विस्तारको काम गरिरहेका मजदुर पुरिएर घाइते भएका हुन् । बर्दियाको बारबर्दिया नगरपालिका-५ घर भई हाल सूर्यविनायक-९ पलाँसे बस्दै आएका ५२ वर्षीय तुलाराम थारू घाइते भएका जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । घाइतेको तत्कालै उद्धार गरी उपचारका लागि सूर्यविनायक नगर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
भक्तपुरको जगाती-साँगा खण्ड र साँगा-धुलिखेल खण्डमा भइरहेको सडक विस्तारका क्रममा पहिरो झर्ने समस्या देखिएको छ । सडक निर्माणमा ढिलाइ हुँदा यात्रीले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् ।
