बागमती प्रदेश सरकारले जेठ १४ मा नीति तथा कार्यक्रम ल्याउने

जेष्ठ ८, २०८२

कान्तिपुर संवाददाता

Bagmati state government to bring policies and programs on May 14

मकवानपुर — बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम जेठ १४ गते प्रदेशसभाको बैठकमा पेस हुने भएको छ ।

सभामुख भुवनकुमार पाठकले बिहीबारको बैठक अन्त्य गर्ने क्रममा प्रदेशसभाको अर्को बैठक आगामी जेठ १४ मा बस्ने र उक्त दिन १ बजे प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाद्वारा आगामी वर्षका लागि नीति तथा कार्यक्रम पेस गर्ने जानकारी दिएका छन् । उनले उक्त दिन निर्धारित समयभन्दा ३० मिनेट अगावै सांसद्हरुलाई औपचारिक पोसाकमा उपस्थित भइसक्न समेत आग्रह गरे ।

बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले वित्तीय अनुशासन कायम राख्दै आगामी वर्षको बजेट विनियोजन गरिने बताएका छन् । प्रदेशसभामा विनियोजन विधेयक, २०८२ को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री काफ्लेले रणनीतिक महत्वको सडक, विपद् जोखिम न्यूनीकरण, कृषि क्षेत्रको व्यवसायीकरणलाई जोड दिनेगरी बजेट तर्जुमा गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बजेट प्रणालीमा वित्तीय जवाफदेहितालाई अभिवृद्धि गरिने समेत उनको दाबी छ । ‘संघीय शासन प्रणालीमार्फत विकास र समृद्धि हासिल गर्न वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन जरुरी छ ।’, उनले चालु खर्चमा कटौती, पुँजीगत खर्चमा वृद्धि गर्दै उत्पादकत्व अभिवृद्धि गर्ने क्षेत्रमा लगानी गर्ने सिद्धान्त र प्राथमिकता कार्यान्वयन गर्न दृढ रहेको बताए ।

समाजमा रहेका विकृति विसंगतिहरुलाई मात्र इंगित गरी राम्रा पक्षहरुलाई बेवास्ता गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा मन्त्री काफ्लेको जोड थियो । ‘जनतामा रहेका निराशा चिर्दै आशाको सञ्चार गर्नु आजको आवश्यकता हो । प्रदेशको स्रोत र साधनलाई समेत मध्यनजर गर्दै आगामी वर्षको बजेट विनियोजन गर्नेछौं,’ काफ्लेले सदनमा प्रतिबद्धता व्यक्त गरे । 

छलफलको क्रममा प्राप्त सुझावहरुलाई सम्बोधन गर्ने आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्ने मन्त्री काफ्लेको प्रतिबद्धता थियो । 

कान्तिपुर

Link copied successfully