स्वीमिङ पुलमा युवक मृत फेला, सँगै गएका साथीहरू पक्राउ

जेष्ठ ७, २०८२

रमेशकुमार पौडेल

Young man found dead in swimming pool, friends who went with him arrested

चितवन — साथीहरूसहित चितवनको इच्छाकामना गाउँपालिका-७ दाहखानी गाउँको दाहाखानी भ्यू-रिसोर्ट गएका एक युवक स्वीमिङ पुलमा मृत फेला परेका छन्।

मंगलबार साँझ भएको उक्त घटनापछि चितवन प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ । चितवन प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका-२२ पटिहानी बस्ने २५ वर्षका लोकेश महतो १० जना साथीहरूसहित उक्त रिसोर्ट गएका थिए ।

साथीहरूसँग नुहाउन जान्छु भनेर स्वीमिङ पुल गएका उनी धेरै बेरसम्म नफर्किएपछि गएर हेर्दा स्वीमिङ पुलमा तैरिरहेको अवस्थामा भेटिएका थिए।

उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरस्थित शिक्षण अस्पताल लगिए पनि त्यहाँ चिकित्सकले मृत घोषणा गरे। डीएसपी खनालका अनुसार घटना शंकास्पद रहेकाले उनका साथीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully